ओलीमाथि विश्वप्रकाशको टिप्पणी : सरकार गयो अहंकार अझै गएन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो गरिमा कायम राख्न पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार एक कार्यक्रममा कांग्रेसलाई १३ सिटमा झारिदिने भनी अभिव्यक्ति दिएपछि त्यसको प्रतिवाद गर्दै शर्माले भने, ‘पूर्वप्रधानमन्त्री तपाईं दलको मात्र होइन, देशको हो । आफ्नो उचाइको गरिमाबाट ओह्रालो नझर्नोस् !’

कीर्तिपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले ओलीको अभिव्यक्ति अहंकारले भरिएको बताए । ‘ओलीको सरकार गयो अहंकारले, गएन अहंकार अझै ।’

दुई ठूला कम्युनिस्ट पार्टी हल बाँधिएर आएका कारण कांग्रेस हारेको स्मरण गराउँदै शर्माले ओलीलाई प्रश्न गरे,‘त्यसरी जितेको बहुमत खोइ आज ?’

कांग्रेसलाई १३ सिटमा झार्ने ओलीको अभिव्यक्तिमा प्रतिउत्तर दिने समय प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई नभएको उनले सुनाए । ‘तपाईंका हलुका अभिव्यक्तिको जवाफ दिन सभापति देउवालाई न फुर्सद छ न चासो’ शर्माले भने ।