विमल सिटौलाको कृति ‘निर्दोष डेरावाल’ बजारमा

काठमाडौँ – विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा आएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयमा उपन्यास विमोचन गरिएको हो ।

पुस्तकको वरिष्ट साहित्यकार पूर्व प्रा. डा. गोबिन्दराज भट्टराई, अञ्जना वस्ती भट्टाराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतिक्षा र महेश पौडेललगायतले संयुक्तरूपमा विमोचन गरेका हुन् ।

पुस्तक विमोचनपछि पूर्व प्रा. डा. भट्टाराईले विश्विद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्मभएको बताए । उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा हर्षले विभोर भएको बताए । करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशिलता रहेको उनको भनाइ थियो ।

समालोक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे । समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउँने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए ।

समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त्त गर्न नसकेका आम वौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन् ।

त्यस्तै, अञ्जना वस्ती भट्टराईले लेखकमा गोबिन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन् । साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौलाले एक सशक्त्त लेखकको जन्म भएकोमा बधाइ दिए । लेखक विमल सिटौलाले विश्वविध्यालयमा एक सेमेस्टारको अवलोकन र अनुभवपश्चात उपन्यास लेखेको बताए । आफू जापानिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ ।  पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।