अन्ततः लडाकुहरु सँग माफी माग्दै सपुतले हटाए पिर बाट विवादित दृश्य: सहि कि गलत ?

काठमाडौं

विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् ।

माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।

उनले लेखेका छन्,

सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा “गलबन्दी”, १५ दिनमा “कुरा बुझ्नपर्छ” र ७ दिनमा “पिर” करोड़ पटक हेरिएको छ। हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरीएको छ। एउटा सर्जक र उसको टिमका लागी र समग्र व्यावसायिक सङ्गीत बजारका लागी यो अपार सफलता हो।

तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु। यधपि तपाइँको अमुल्य शुभेच्छा मेरो लागी असामान्य छ।

मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु। रेकर्डहरु बनाएको छु। सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन। कहिले काहिँ त लाग्छ ! भयो अब ! पुग्यो । I’m done !

खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकश्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने रहेछ कि जस्तो महशुस गराएको छ।

सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ। यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ।

भैईरहोस। जे होस, पिरमा प्रतीकात्मक

रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदियो।

Unofficial रुपमा त पुरानो भिडियो Save होलान। अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध ) तर लाखौ सब्सक्राईब भएको Pakash Saput official YouTube मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो।

नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो।

त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि-अपलोड गरिएको छ।

साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु।

केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…

कसैको आत्मसम्मानमा चोट पुगे क्षमा चाहन्छु : प्रकाश सपुत

गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । तर गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् ।

साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं, तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ।

मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला । कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष र विपक्षमा एकोहोरो भइन्छ ।

नेपाली सोसियल मिडियामा यो गलत नजीर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर

पनि गर्छ ।

गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं । तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ ।

त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ।’

उनले गीतमा समावेश चरित्र आफैंले देखेका र संगत गरेका नै भएको पनि स्पष्ट पारेका छन् । ‘पीर’ गीतमार्फत ‘जनयुद्ध’कै जग र बलमा व्यवस्था परिवर्तन भएको, तर अवस्था परिवर्तन मात्रै भन्न खोजेको सपुतले उल्लेख गरेका छन् ।

समानताका लागि लडेका एकसाथ लडेकाहरुबीच बढ्दै गएको असमान दुरीलाई भिडियोमा देखाउन खोजेको उनको भनाइ छ ।

उनले अगाडि उल्लेख गरेका छन्, ‘एक आम नागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिश गरेका हौं ।

मलाई लागेको यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिंदै र पढिंदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’

दुई दिनअघि युट्युबमा सार्वजनिक ‘पीर’ बोलको गीत सार्वजनिक भएसँगै केही विवाद सिर्जना भएको हो । खासगरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु यो गीतविरुद्ध खनिएका छन् । खासगरी पूर्वमाओवादी छापामार देशव्यापारमा संलग्न भएको दृश्यप्रति उनीहरुले आपत्ति जनाएका छन् ।