‘हिजो शहीद बन्न झगडा गर्नेहरू आज पदका लागि झगडा गर्न थाले’, प्रचण्ड भनें

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताए । ‘पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दो छ । अराजकता, गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ’, आक्रोशित भावमा प्रचण्डले भने, ‘यही पार्टी हो जहाँ युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो ।’