खलनायकलाई अझै पुगेको छैन – प्रचण्ड

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिएका छन् । र, उनीप्रति प्रहार अझैं नपुगेको बताएका छन् ।

बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित गैरभौगोलिक प्रदेश समितिहरुको प्रशिक्षणमा प्रचण्डले ‘प्रतिक्रियावादीहरु’ अझै ओलीलाई बचाउन लागि परेको आरोप समेत लगाए । ‘अझै पुगेको छैन खलनायकलाई,’ एमाले अध्यक्ष ओलीको नाम नलिई भने, ‘दिन त हामीले पुर्‍याएर दिएकै हो । बालुवाटारबाट बालकोट, सबै प्रदेशबाट घर–घर पुर्‍यादिइम् । तर अझ जति पुग्नुपर्ने हो, पुगेको छैन क्या !’प्रचण्डले थपे, ‘(देशभित्र र बाहिरका) प्रतिक्रियावादीहरु उनलाई बचाउन कस्सिएका छन् । माओवादी आउला कि भनेर सातो गएको छ उनीहरुको । उनीहरुको सातो गए जाओस्, कम्युनिज्मको भूत भन्या जस्तो हामी माओवादी भूत भएर निक्लिनुपर्‍यो एकचोटी । यिनीहरुको सातो खानुपर्‍यो, अनि जित्छौं हामीले ।’