महिला, दलन र पितृसत्ता

बलात्कार घटनाका दोषीलाई कारवाहीका लागि जतिसुकै कडा कानुन बनेपनि समाजमा बलात्कारका घटनाहरू घट्न भने सकेको छैन। दिनहुँ महिला तथा बालिकाहरू बलात्कार र यौनजन्य हिंसाका घटनाबाट शिकार हुने गरेका छन्।

महिलालाई शुद्र समानको मान्यता

“यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता” अर्थात् जहाँ स्त्रीको सम्मान हुन्छ, त्यहाँ देवताको वास हुन्छ भन्ने दर्शनलाई जोड दिने हाम्रो समाजमा किन छोरीहरूमाथि दिनहुँ यस्ता घटना घट्छन्?

जुन रामराज्यको आदर्श कल्पना गरेर तथाकथित हिन्दू समाजले गौरावन्वित महशुस गर्छ, त्यही रामराज्यको बारेमा रामचरितमानसमा भनिएको छ – “ढोल, गंवार, शुद्र, पशु, नारी सकल ताडना के अधिकारी” अर्थात् दमाहा, गँवार, सुद्र (अछुत), पशु र नारीहरू सबै यातनाका लागि योग्य छन्। जुन समाजको आधारभूत संंरचना नै स्त्री विरोधी छ भने यस समाजमा महिलाको हक हितलाई कसरी सुरक्षित राख्न सकिन्छ?

स्त्रीविरोधी संस्कृतिलाई सामान्यतः पितृसत्तात्मक विचारधारासँग जोडेर हेर्ने गरिन्छ। तर पितृसत्ताको जरा ब्राम्हणवादको भूमिमाथि नै फैलिएको छ। ब्राम्हणवादको सम्बन्ध कुनै खास वर्ग या जाति समुदायसँग छैन। डा. अम्बेडकरका अनुसार यो एक मानसिक अवस्था हो। अम्बेडकर लेख्छन् –“ब्राम्हणवाद आफ्नो लालच र स्वार्थी राजनीतिक लाभका लागि धर्मलाई एक हतियारका रुपमा प्रयोग गर्ने गर्छ।”