‘पहिलो प्रश्न प्रचण्डलाई गर त्यसपछी प्रकाश सपुतलाई’ – डा. शैलेश बसेल

– डा. शैलेश बसेल

ढलेको/ मरेको आन्दोलनको इतिहास त्यसैगरी लेखिन्छ जसरी प्रकाश सपुतले लेखे । पहिलो प्रश्न प्रकाश सपुतलाई हैन प्रचण्डलाई गरौं । किरण र विप्लवलाई पनि गरौं ।
१. माओवादी पृष्ठभूमिका साथीहरुले आफ्नो गौरवपूर्ण क्रान्तिप्रती जुन सामुहिक प्रतिबद्धता देखाउनुभएको छ, त्यो एकदमै सह्रनीय छ । एउटा महान आन्दोलनका योद्धाप्रती बनाइएको बिम्बलाई जसरी प्रतिवाद गर्नुभएको छ, त्यो पनि सह्रनीय छ । यद्यपि आन्दोलन बचाउन नसकेपछी, आन्दोलनलाई नयाँ दिशा दिन नसकेपछी जतिसुकै बल गरेपनी इतिहासको भ्रष्टिकरणलाई रोक्न सकिन्न ।

२. गीतभरीमा हाम्रा साथीहरुको प्रश्न जम्माजम्मी जनमुक्ति सेनाकी पूर्व सदस्यको यौनकार्यलाई लिएरमात्रै छ । लडाकु हरितन्नम र अपमानित जीवन बाँचिरहेको छ, कुनै प्रश्न छैन । अर्की लडाकु विदेश गएर त्यतै अलपत्र परेको प्रसङ्ग छ, त्यहाँ पनि चासो छैन । माओवादी आन्दोलनकै नवधनाढ्यको तुजुकै अर्कै छ त्यहाँ पनि प्रश्न छैन । जुनदिनसम्म आन्दोलनमा लडेका योद्धाहरुमाथिको हेला, अपमान र तिनको रगत/ पसिनाको बिक्रीमाथी कोहि प्रश्न गर्न सक्दैन उसले यौनकार्यको दृश्यमा प्रश्न उठाउने नैतिकतासमेत राख्दैन । यहाँ कुनै रहरमा गरिएको यौनकार्य देखाइएको छैन । उनले बाध्यतामा यौनकार्य गरेको देखाइएको छ । बाँच्नकै लागि किड्नी बेच्नुभन्दा धेरै गुणा बढी सहज र कम अपमानजक काम पो हो कि बाँच्नकै लागि यौनकार्य गर्नु ? सोचौं । आफूले लडेको आन्दोलनले अयोग्यताको दर्जा दिनुभन्दा कम पीडादायी काम पो होकि बाध्यतामा यौनकार्य गर्नु, त्योपनी सोचौं । जनमुक्ती सेनाको रगत/पसिना बेच्नु, उनीहरुलाई अरब पठाउनु, अपमानजनक जीवन बाँच्न अभिशप्त गर्नु, घाइते योद्धालाई पुषको ठन्डीमा माइतिघरमा अनशन बस्न बाध्य पार्नु, शहिदहरु लाई आजसम्मपनी राष्ट्रिय सहिद घोषणा नगर्नु, आफैंले प्रतिक्रियावादी भनेको एमालेसङ्ग माओवादी आन्दोलनका विरासत त्यागेर घाँटी जोड्न जानुभन्दा हजार गुणा कम अश्लील होकि यौनकार्य गरेको कथा भन्नू ? त्योपनी सोचौं । बाँच्ने बाध्यतामा मान्छेले आफूसङ्ग भएका सबै विकल्प लगाउँछ नै, मान्छे बाँच्न चाहन्छ । लडाकुहरु लाई बाँच्नु न मर्नु पारिएको छ कि छैन त ? दर्जनौंपटक सत्ताभोग गर्दा जनमुक्ती सेनाका योद्धाहरुलाई सम्मानजनक जीवनको हकदार बनाइयो त ? जब सम्मानजनक जीवनको हकदार योद्धाहरुलाई बनाइएको छैन भने यौनकार्य गरेर होस् कि अरबमा मुर्छित परेर होस्, दुवै खालका जीवन समान रुपमा अपमानजनक नै हुन् ।

३. प्रकाश सपुतको गीत १६ मिनेटभन्दा बढिको छ, त्यसमा१ मिनेट र केही सेकेन्ड बढि यौनकार्यको प्रसङ्ग आउँछ । बाँकी १५ मिनेटमा कुनै प्रश्नै छैन हैन ? जीवन दाउमा लगाएका योद्धाको हद दर्जाको दुरावस्था छ त्यहाँ तर – “समस्या नभएका होइनन्” टाइपको साखुल्ले टिप्पणी गरिदिएमात्रै पुग्छ हैन ? एउटी महिला योद्धाको बाध्यताको यौनकार्यमा सबभन्दा धेरै टाउको दुख्छ । किन ? यसको एकमात्रै कारण माओवादी कमरेडहरुको दिमागमा बसेको पितृसत्तावादी यौन नैतिकता हो । आफ्नी श्रीमती विदेश पठाएर, श्रीमती विदेशमा अलपत्र परेको समय त्यो मुठ्ठी उठाउने क्रान्तिकारी श्रीमान वासनापूर्तीका लागि यौन अखडा हिँडेको छ । कसैले सोध्नुभयो- क्रान्तिकारी नैतिकताद्वारा लैष योद्धा यस्तो हुनै सक्दैन भनेर ? दिमागमा गढेको पत्रु र पितृसत्तावादी यौन नैतिकताको हतियारले प्रकाश सपुतको प्रतिवाद हुन सक्दैन ।

४. यो गीत ठिक छ त ? बिल्कुल छैन । यसले जनयुद्धका मुल्यको भ्रष्टिकरण गर्छ । यसले अपवादका पात्रलाई उभ्याएर जनयुद्धका लडाकुको कथा भन्छ । समस्याग्रस्त विचारहरु प्रवाहित गर्छ र आँशुको अन्धाधुन्द व्यापार गर्छ । तर, यो दण्दनीय पनि हैन र पूर्णत काल्पनिक पनि हैन । यो गीतले जनयुद्ध हिजो बेठिक थियो भनेर तर्क गरेको पनि होइन । र, यो गीतको आलोच्य पक्ष तथाकथित यौन नैतिकतापनी हैन । जनयुद्धको समग्र भाष्यको सवाल हो उठाउनुपर्ने । त्यसैले सपुतलाई सरापेर होइन, गाली गरेरपनी होइन जनयुद्धका मुल्यहरुको भ्रष्टिकरणको प्रतिवाद गर्ने संकल्प र जनयुद्धको गौरवशाली जगमा टेकेर क्रान्तिको कार्यभार उठाउने शाहसले मात्रै सारा माओवादी आन्दोलनमाथिका आक्रमणको जवाफ दिन्छ । त्यसैले आन्दोलन भ्रष्टिकरणमा पहिलो प्रश्न प्रचण्डलाई सोधौँ, त्यसपछी सपुतहरुलाई प्रश्न गर्नु त छँदैछ ।