कवि अमृतको ‘एकान्त भीड’ सार्वजनिक

कवि अमृतको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानले आयोजना गरेको एक समारोहका बिच वरिष्ठ साहित्यकार सरुभक्त र साहित्यकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरे ।
कृतिको लोकार्पण समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र उडान गर्न पाउनुपर्ने बताए । कविता स्वयंमा शालीन र कोमल हुने भएकाले कवितालाई कित्ताकाट गर्न नहुने कुरामा उहाँको विशेष जोड थियो । कविलाई सीमामा बाँध्नु उचित नहुने उल्लेख गर्दै उनले कविता पढ्ने मन त्यति सुन्दर हुनुपर्छ जति भीरमा फुलेको फूल हेर्ने आँखा सुन्दर चाहिन्छ । नेपाली कवितामा अमृतको उपस्थिति निकै भरोसालाग्दो बनेर उभिएको बताउँदै उनका कवितामा जीवन र समाजको सुन्दर प्रतिबिम्ब आएको बताए । समारोहमा बोल्दै कवि तीर्थ श्रेष्ठले सूत्रात्मक अभिव्यक्तिमा कविता बुन्न कवि अमृतले कुशलता देखाएको बताए । कविता आफैँमा छोटो अभिव्यक्ति भएकाले यसलाई अनावश्यक शब्दको बोझ बोकाउनु उचित नहुने कुरामा उनले विशेष जोड दिए ।
कार्यक्रममा अतिथिका रूपमा बोल्दै कवि सरस्वती श्रेष्ठ ‘सरू’ले कवि अमृत पछिल्लो समय निकै क्षमतावान् बनेर उदाएकोमा आफूलाई खुसी मिलेको बताइन् । कृतिको समीक्षा गर्दै समीक्षक सञ्जीव पौडेलले कविता सङ्ग्रहमा कवि अस्तित्ववादी, विसङ्गतिवादी, प्रकृतिप्रेमी, देशभक्तिको भावना प्रमुख रूपमा मुखरित भएको बताए । उनले बहुविषयमा आधारित रहेर कोमल अभिव्यक्ति दिने कार्यमा कवि अमृत सङ्ग्रहमा सफल रहेको सुनाए । कवितामा कोमलता हराउँदै गएको वर्तमान अवस्थामा अमृतले त्यसलाई फेरि जगाउने कार्य गरेको भन्दै उनका कवितामा दार्शनिकता प्रमुख विशेषता बनेर उपस्थित भएको कुरा व्यक्त गरे । कृतिले कोमल, शिक्षित र बौद्धिक पाठकको अपेक्षा गर्नेसमेत बताए । अमृतका कवितामासहरीकरणको रुखोपन, आमाको महानता, राजनीतिक विकृतिमाथिको शालीन विद्रोह, वैदेशिक रोजगारका व्यथा आदि विषय र स्वर प्रमुख रूपमा अभिव्यक्त भएको बताए ।
समारोहमा कवि अमृतले आफ्ना कविताका रचना गर्भ र जीवनका अनुभूतिहरू सुनाए । कार्यक्रममा कवि ईश्वरमणि अधिकारी, दीपक समीप, चन्द्रवीर तुम्बापो, मीना श्रेष्ठ, मोहन भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।