कर्मचारीलाई तलब भत्ता दिन सकिन्न: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ। मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो।

दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ। हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ।

दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्तासमेत गर्ने गरेको पाइएको छ। केही प्रदेश, स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई थप तलबभत्ता माग समेत गर्दै आएका छन्।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयले दरबन्दीभन्दा बढी भर्ना गरिएका कर्मचारीको हकमा मन्त्रालय जिम्मेवार नहुने निर्णय गरेको हो। कार्यालयले समायोजन मिलानको लागि सहमति प्रदान गर्दा दरबन्दी यकिन गरी रिक्त दरबन्दीमा मात्र सहमति दिइने मन्त्रालयले प्रस्ट पारेको हो।