प्रचण्डले अध्यक्ष पदबाट राजिनामा दिने ?

काठमाडौं :

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए । त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने उनले बताए ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।’

एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखे ।

त्यसबेला एमसिसीबारे छलफल गर्दा पार्टीबाट फेल भयो भने के गर्ने भन्ने पत्रकारको अर्को प्रश्नको जवाफमा प्रचण्डले फेल भए पार्टीबाट राजीनामा दिने बताए। ‘फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुस्,’ उनले भने।

आठौं राष्ट्रिय सम्मेलनबाट प्रचण्ड पार्टी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए। साथै व्याख्यात्मक घोषणासहित माओवादीलगायत दल एमसिसी अनुमोदन गर्न तयार भएका थिए। एमसिसीले यसबीचमा केही तरंग पनि ल्याएको उनले बताए।