सत्ताको उन्मादले देशको हित गर्दैन : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुने डर भएकाहरूले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनमा ओलीले जनतामा जाने कुरालाई प्रतिगमन भनेको बताए। अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मूलाको संज्ञा दिँदै उनले यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दाबी समेत गरे।

ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए। उनले भने, ‘यिनीहरू चुनावबाट भाग्न खोज्दैछन्,भागेर कहाँ जान्छौ ? चुनाव त गराउनै पर्छ। त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं। परमादेशबाट एमालेलाई हटाइयो, अब रोकिन्छ भन्ने नसोचे हुन्छ। एमाले एउटा भेल हो, यो भेल अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट।’

ओलीले सत्ताको उन्मादले देश र जनताको हित नगर्ने बताए। सत्तागठबन्धनका दलहरूलाई इंगित गर्दै उनले कहिले काहीँ परमादेशको बलमा शक्तिहीनहरू पनि सत्तामा जाने र उनीहरूमा उन्माद चढ्ने टिप्पणी गरे। त्यस्तो उन्मादले देश, जनता र नागरिक कसैको पनि रक्षा नगर्ने उनले बताए।

‘सरकार सत्तामा हुन्छ, सत्ताले उन्माद जन्माउन सक्छ। सबैभन्दा खराब कुरा के हो भने सत्ताले उन्माद जन्माउँछ। कहिले कहिले खासै शक्ति नभएका व्यक्तिहरू पनि अनेक जालझेल, तिकडम आदी इत्यादि गरी परमादेश जारी भएका बखत हुलमुलमा पावरमा पुग्न सक्छन्। त्यसरी पावरमा पुगे भने त्यस्ता मान्छेमा उन्माद चढ्न सक्छ। र, त्यो उन्मादले देश र जनताको हित, संविधानको रक्षा पट्टी वास्ता गर्दैन,’ उनले भने।