प्रदेश १ को नाम केपी ओली प्रदेश राख्न रामप्रसाद रिजालको माग

काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले प्रदेश १ को नाम केपी ओली प्रदेश राख्नुपर्ने बताएका छन् ।

दर्पण दैनिकसँग कुराकानी गर्दै नेता रिजालले राजनेता केपी ओलीलाई सम्मान गर्दै केपी ओली प्रदेश राख्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओली नेपालको राजनीतिको हिराे भएको र उहाँको जन्मस्थान प्रदेश एक मै भएको कारण प्रदेशको नाम पनि केपी ओली राख्न मेरो अनुरोध ।

ओली प्रधानमन्त्री हुँदा गरेका दुरगामी कामहरु जनताको मन-मनमा रहेको र अझैं केहि गर्न बाँकि रहेकोले ओली नै राष्ट्रको राजनेता भएको उनले बताए । उनले भने, ‘ओली जस्तो दुरदर्शी नेता, राष्ट्र र राष्ट्रीयताको लागि कुनै देशसँग नझुकी कडा रुपमा बोल्न सक्ने आँट हिम्मत भएकाे विकासवादी जनप्रिय नेता नेपालमा आज सम्म जन्मेकै छैंनन् ।’

हाम्रो देशमा रहेको जिवित हुदा सम्मान नगर्ने र मरेपछि गुणगान गर्ने चलनको अन्त गर्दै ओलीले गरेका कामहरूको आधारमा प्रदेश १ को नाम केपी ओली प्रदेश राखी सहयोग गर्न नेता रिजालको अनुरोध छ । उनले भने, ‘राजनेता ओलीलाई उहाँको कामको उच्च मूल्यांकन गर्दै मैले जिवीत छदै राष्ट्रले सम्मान गरोस भन्ने उद्देश्यले नै मैले १ नम्बर प्रदेशको नाम केपी ओली प्रदेश राख्न अनुरोध गरेको हुँ ।’

केहि दिन अगाडि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले प्रदेश १ को नाम कोसी राख्नुपर्ने बताएका थिए । गृह जिल्ला झापामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीको प्रदेश अधिवेशन समारोहको उद्घाटन गर्नै उनले प्रदेशको नाम कोसी राख्नुपर्ने बताएका थिए । सगरमाथा, कञ्चनजंघा, मकालु सबैलाई प्रतिनिधित्व गर्ने नाम कोसी नै भएको उनले बताएका थिए । नेपालका सात प्रदेशमध्ये प्रदेश १ को मात्र नामकरण गर्न बाँकी छ । प्रदेश १ लाई सभ्यता, संस्कृति र इतिहासका आधारमा किरात प्रदेश राख्नुपर्ने माग उठिरहेको छ ।