हरियो चुनाव चिन्ह मान्य हुँदैन : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन्। मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा ओलीले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भन्दै प्रश्न गरे।

उनले भने, ‘निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने रे ? कुन हिसाबले राख्न लागेको हो। यो राजनीतिक हिसाबले राख्ने हो ? कि कसैको चुनाव चिन्ह हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिन्ह रुखै रुख देखुन् भनेर हरियो राख्न खोजेको हो कि। मैले आयोगसँग यसबारे कुरा गर्न पाएको छैन। मिडियाले गल्ती लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, यदि आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ। कहिले अदालत हाम्रो विरुद्ध, कहिले सभामुख हाम्रो विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रो विरुद्ध के हो यो ?’

उनले पार्टीविरुद्ध राज्यका सबै अंगको प्रयोग भएको आरोप लगाए। ओलीले भने, ‘नेकपा (एमाले)का विरुद्ध प्रयोग भइरहेको छ, राज्यका सबै अंग प्रयोग भएको छ। अदालत प्रयोग गरेको छ, परमादेश देख्नुभयो। सभामुख प्रयोग भइरहेको छ।’