गाउँपालिकाका अध्यक्ष क्षेत्रीद्वारा एमाले परित्याग

सिन्धुपालचोक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्।मंगलबार नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका केदार क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन्।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार उनलाई पार्टी प्रवेश गराएका हुन्। क्षेत्रीसँगै युवा नेता कृष्ण क्षेत्री र एमाले जिल्ला सदस्य सुभाष सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन्।

क्षेत्रीले फागुन ४ गते उनले पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरेको घोषणा गरेका थिए। उनी एमालेमा रहँदा बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य थिए। एमालेमा सामन्तवादी सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी त्यागेको उनले बताएका थिए।