जनादेशी र परमादेशी शक्तिबीच लडाइँ छ : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन्। एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए।

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए। आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै उनले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरे।

ओलीले अहिले सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलेको अवस्था रहेको बताए। इतिहास र शास्त्रमा कहिले राम र रावण, कहिले कृष्ण र कंस त कहिले कौरव र पाण्डवबीच विभिन्न समयमा सत्य र असत्यको लडाइँ चलेको भन्दै उनले अहिले भने परमादेशी र जनादेशी शक्तिबीचको लडाइँ लड्नुपर्ने अवस्था आएको बताए।

‘आजको असत्यचाहिँ बडो रोचक ढंगले प्रकट भइरहेको छ‚’ उनले भने, ‘असत्यको प्रतिनिधित्व गर्ने शक्ति परमादेशी र जनताको जनादेशको पक्षमा जान खोज्ने; जनताको पक्षमा लड्ने शक्ति हामी सत्यको पक्षमा रहेका छौं।’