एमाले मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको ओलीको दावी

काठमाडौं २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै एमालेको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको बताएका छन् ।

‘संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको छ। आज स्थानीय तहमा हजारौं महिलाहरुको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको छ।’ सन्देशमा भनिएको छ ।

नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको बताएका ओलीले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको बताएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो गन्तव्यमा सामाजिक न्याय महत्वपूर्ण आयाम हो। राष्ट्रको समृद्धि र जनताको सुखका लागि नेकपा (एमाले)ले अघि बढाएको अभियानमा हामीलाई सरकारबाट बाहिर पुयाएपछि अल्पविराम लाग्न पुगेको छ
’सन्देशमा उल्लेख छ।

‘न्यायप्रेमी जनसमुदायको साथ लिएर हामी यसलाई अझै अगाडि बढाउन चाहन्छौं। नेकपा (एमाले)को यस अभियानलाई सफल बनाउन रचनात्मक ढंगले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक अपिल गर्दछु।’

जारी सन्देशमा भनिएको छ , ‘एमाले मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको ओलीको दाबी छ। गत वर्ष सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्बन्धी कानूनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय वृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको छ’।