नेकपा माओवादी केन्द्र सिद्धिन्छ : ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र सिद्धिने दाबी गरेका छन्। शनिबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी पार्टी आफै सिद्धिने दाबी गरेका हुन्।

उनले आगामी वैशाख ३० मा माओवादी पार्टी सकिने एक झलक देखिने टिप्पणी गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने दाबी गरे। अध्यक्ष ओलीले पत्यार नलागे ज्योतिषलाई चिना देखाउन प्रचण्डलाई सुझाव दिए।

ओलीले भने, ‘०५२ बाट ०६२ सम्म उकालो लागेको तपाईंहरुलाई थाहा छ। त्यसपछि ओरोलो लाग्न सुरु भयो। ७२ मा आइपुग्दा लगभग सिद्धियो। ७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो। बेलुनमा पम्प हालेर राख्दा विस्तारै विस्तारै सकिन्छ। अब म माओवादीलाई पम्प किन हाल्छु ?’