कुनै बिरोधसभामा सहभागी हुने कार्यक्रम छैन : नारायणकाजी सचिवालय

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनविरुद्ध आन्दोलित भएका साना कम्युनिष्ट घटकहरुले शुक्रबार गर्ने जनसभामालाई सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ। खुल्ला मञ्चमा आज (शुक्रबार) हुने ६ दल र २ मोर्चाद्वारा आयोजित बिरोध कार्यक्रममा नेता श्रेष्ठले पनि सम्बोधन गर्ने भनि मिडिया तथा सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रति सचिवालयले आपत्ती जनाएको छ।

नेता श्रेष्ठ आजदेखि सुरु हुने नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा सहभागी हुने भएकाले कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम नरहेको सचिवालयले उल्लेख गरेको छ ।

नेता श्रेष्ठसंगको बुधबारको भेटमा नेकपाका महासचिव नेत्रबिक्रम चन्द `विप्लव´ ले शुक्रबारको कार्यक्रममा वक्ताको रुपमा आमन्त्रण गरेपनि उनी सहभागी नहुने भएका हुन्। पार्टीले संसदबाट एमसीसी अनुमोदन गरेपछि कडा रुपमा असन्तुष्टि पोख्दै नेता श्रेष्ठले आजबाट सुरु हुने माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा फरक दस्ताबेज लाने तयारी गरेका छन्।