लेखनाथ न्यौपानेको अपिल : पार्टीमा देखिएको समस्यालाई लिएर आवेगात्मक निर्णय नलिऔं

नेकपा (माओवादी केन्द्र)का  केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीभित्र देखिएका मतभेद र अन्तर्विरोधलाई लिएर आवेगात्मक निर्णय नलिन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत् न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट रहेका नेता नारायणकाजी श्रेष्ठ पक्षलाई इंगित गर्दै उक्त आग्रह गरेका हुन्।

उनले सबै नेता कार्यकर्ताहरुले सुझबुझ र धैर्यतापूर्वक पार्टीभित्र देखिएका तमाम् समस्याहरु आ-आफ्नो कमिटीको बैठक आयोजना गरेर तिखो र जीवन्त बहस, छलफल र आलोचनाद्वारा हल गर्न जरुरी रहेको बताएका छन्।

पार्टीभित्रका समस्याहरुको हल नखोजी तुरुन्तातुरुन्तै अर्को पार्टी बनाउने, पार्टी छोड्ने, निस्कृय हुने वा अन्य पार्टी प्रवेश गरिहाल्ने आवेगात्मक निर्णयले हुँदैन,’ उनले लेखेका छन्,‘कमिटीगत निर्णयभन्दा बाहिरबाट हुने निर्णयहरुले पैदा गरेका कैयौं समस्याहरु नैतिक धरातलमा टेकेको सामूहिक पहलले हल गर्न सक्छ भन्ने मान्यतालाई प्रयोगमा उतारौं।’

उनले असन्तुष्ट र निराश भएर नभइ, समस्य हल गर्ने उद्देश्यमा अझ सकृय बन्न पनि आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले पार्टी महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै माओवादी केन्द्रमा मतभेद उत्पन्न भएको छ।एमसीसी अनुमोदन गरेर प्रचण्डले पार्टी निर्णयको गम्भीर उल्लंघन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेको नेता श्रेष्ठ पक्षको निष्कर्ष छ। त्यसैले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने भन्दै श्रेष्ठ पक्ष पार्टी नै विभाजन गर्ने निर्णयमा पुगेको स्वयं माओवादी केन्द्रका नेता कार्यकर्ताले बताउन थालेका छन् ।