परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएको बताएका छन्।

बिहीबार नेपाली बौद्धमार्गी तथा हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको बताएका हुन्।

‘बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो। यसबाट मात्र संविधानले व्यवस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिन्छ,’ प्रचण्डले सन्देशमा भनेका छन्, ‘पराधीन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन।’

उनले ग्याल्पो ल्होसारले नेपालीमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना पनि व्यक्त गरेका छन्। उनले जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएका पनि उल्लेख गरेका छन ।।