प्रधानमन्त्री देउवाले भने- अल्पसंख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील

काठमाडाैं, १९ फागुन – प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील रहेको बताएका छन् ।

शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार क्रियाशील रहेकाे बताएका हुन् ।

नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेकाे उल्लेख गर्दै देउवाले भनेका छन्,’ यहाँ हरेक जातजातिका आ–आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति छन् । सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान हो ।’

उनले स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गरेका छन् ।