संसद् अवरोधको निकास नखोज्नु सरकारको गैरजिम्मेवारीपन : बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद् अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष भट्टराईले जनताको समस्या संसद्मा नराखी ज्याला लिनु लज्जास्पद भएको बताए।

अध्यक्ष भट्टराईले सरकारले संसद्को अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोप समेत लगाए।

‘जनताको सर्वोच्च थलो प्रतिनिधि सभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन। यो दुःखद् भयो। सबै जिम्मेवार बनेर यसको निकास खोजौँ भन्ने कुरा मैले राखेको छु’, भट्टराईले भने, ‘सबै कुराको निकास खोज्न सकिन्छ। यो एकदमै गैरजिम्मेवार भयो। हामी आउँछौँ भत्ता बुझ्छौँ हिँड्छौ। जनताको समस्या राख्दैनौँ भने बिनाकामको ज्याला लिनु राम्रो होइन। यो बेठीक भइरहेको छ। यसको छिटो निकास निस्कनु पर्छ। यो शोभनीय भएन, जनताप्रति अपमान हो।’