कांग्रेस, एमाले र माओवादीको पार्टी कार्यालय तोडफोड

सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयबाहिर आगजनी पनि गरेका छन् ।

एमसीसी सम्झौता अनुमोदनको विरोधमा उत्रिएकाहरुले प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन् । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन बढी सेल अश्रुग्याँस समेत हानेको छ ।

प्रहरीले बन्दकर्ताहरूलाई ढुंगामुढा नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ । तर, बन्दकर्ताहरू भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।

‘शान्तिपूर्ण ढंगले बन्दको कार्यक्रम गर्न आग्रह गर्दा पनि बन्दकर्ताहरू उग्र बनेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने, ‘थप सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पठाएका छौं । अब बल प्रयोग गरेर स्थिति सामान्य बनाउँछौं ।’