जयनन्दका भाई कृष्ण घरमै पुगेर धुरुधुरु रोए, हल्का रमाइलो टिमनै भावुक (भिडियो सहित)

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आउनुभएका ६६ वर्षीय लामाको बिहान निधन भएको हो । लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको छ ।

बिहानैदेखि उहाँको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ । विभिन्न विद्यालयमा उहाँ सङ्गीत गुरुका रूपमा क्रियाशिल हुनुहुन्थ्यो । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उहाँकै निवासमा श्रद्धाञ्जलिका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ ।

उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गर्नुभएका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आउनुभएको थियो । लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल हुनुहुन्थ्यो ।

‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आउनुभएका लामाले ‘पानी प-यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएका उहाँले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आउनुभएको थियो । जयनन्द लामाको अन्तिम संस्कार यसरी गरियो, हजारौले दिए श्रद्धाञ्जलि, कलाकारिता क्षेत्रलाई ठुलो घाटा। भिडियो हेर्नुहोस।