एमसीसीको विरोधमा बाहिर नबोल्न नेता नारायणकाजीलाई प्रचण्डको आग्रह

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई एमसीसीको विषयमा बाहिर नबोल्न आग्रह गरेका छन् ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा एकै मत हुनुपर्छ भन्ने नभएपनि केन्द्रीय कमिटीको बैठक आफ्नो कुरा राख्न आग्रह गर्दै उनले यस्तो बताएका हुन् ।

‘नारायणकाजी कमरेडलाई मैले भने तपाइँलाई मतभेद राख्ने अधिकार छ। सबै एकै मत हुनुपर्छ भन्ने छैन। तपाईँको विचारलाई सम्मान पनि गरिन्छ। केन्द्रीय कमिटीको बैठक आउँदै छ। कमिटीमा आफ्नो कुरा राख्नुस्, बाहिरचाहिँ नबोल्नुस्,’ उनले भने।

एमसीसीको विरोधमा देखिएका नेता श्रेष्ठले व्यख्यात्मक टिप्पणीलाई सुनियोजित भ्रम भन्दै अभिव्यक्ति दिएका थिए । साथै उनले राष्ट्रघाती एमसीसी पारित भएको दिनलाई आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनुपर्ने बताएका थिए ।