डडेल्धुरामा सानो गल्तिले २३ वर्षीय दीपकको दुखद निधन

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम नजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ । शनिबार अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप००१क १८७९ नंको टिपर दुर्घटना भएको हो । करिब २०० मिटर तल टिपर खस्दा चालकको मृत्यु भएको हो ।

जिल्ला सदरमुकामको कीर्तिपुर बजारबाट बागबजार जाने क्रममा उक्त टिपर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक जिल्ला दाङ घर भएका १६ वर्षीय अशिम चौधरी घाइते भएका छन् । घाइतेको खुट्टा र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । टिपर ब्याक गर्दा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।