संसदको कार्यसूचीमा पर्‍यो एमसीसी

काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुने भएको छ। एमसिसी संसद बैठकको कार्यसूचीमा परेको छ। आइतबारको बैठक सुरू हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची बनाएको हो।

संघीय संसद सचिवालया प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसिसी सम्झौता अनुमोदन गर्ने प्रस्ताव टेबल हुनेछ। प्रस्तावमाथि छलफल गर्ने विषयमा भने आज कार्यव्यवस्था परामर्शमा कुरा भएन। अर्को बैठक फागुन १२ गते बोलाएर एमसिसीमाथि छलफल गराउने तयारी भइरहेको छ।

तर, सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भने एमसीसीलाई संसदको कार्यसूचीमा राख्ने विषयमा लिखित असहमति राखेको छ। माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सांसदहरू जयपुरी घर्ती र रेखा शर्माले एमसीसीलाई कार्यसूचीमा राख्ने कार्यव्यवस्था समितिको निर्णयप्रति लिखित असहमति राखेका हुन्।

यसअघि आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेबल गर्ने सहमति भएको थियो। सहमतिसँगै सभामुख अग्नि सापकोटाले एमसीसीलाई संसदमा टेबल गर्न बैठकको कार्यसूचीमा समावेश गरेका छन्।