गठबन्धनको बैठकबाट बाहिरिए प्रचण्ड-माधव

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन दलको बैठकबाट बाहिरिएका छन्। बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक स्थलबाट बाहिरिएका हुन्।

गठबन्धन बैठकमा एसमीसी संसदमा पेस गर्न सहमति दिएर उनीहरू छुट्टै छलफलमा जुटेका हुन्। एमसीसी संसदमा टेबल गर्ने सहमति भएको एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताए। ‘एमसीसी सम्झौता पहिला नै संसदमा दर्ता भएको थियो। त्यसलाई छलफलका लागि टेबल गर्ने सहमति भयो,’ नेता नेपालले भने।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। त्यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। उक्त बैठकले संसद् बैठकको कार्यसूची तय गर्नेछ। सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्थाको बैठकले एमसीसी टेबल गर्नेलगायत कार्यसूची तय गर्ने नेताहरूको भनाइ छ।