नेपालमा अमेरिकाको ‘कूटनीतिक जबर्जस्ती’को प्रतिरोध गर्ने चीनको चेतावनी

बेइजिङ– एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबर्जस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले उक्त कुरा बताएका हुन् ।

झन्डै ६० अर्बको एमसीसी परियोजनालाई फेव्रुअरी २८ भित्र संसदीय अनुमोदन गराउन अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ गरिरहेको आरोप चीनले लगाएको हो । ‘चीन त्यसको प्रतिरोध गर्छ’ प्रवक्ता पिनको भनाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

पिनले भने, ‘नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीन स्वागत गर्छ तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्छ ।’

 

गतसाता मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी फेव्रुअरी २८ भित्र एमसीसी पारित नभए अमेरिकाले नेपाल नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको विवरण सार्वजनिक भएको थियो ।

साथै, सम्झौताको संसदीय अनुमोदन हुन नसके यसमा चिनियाँ हस्तक्षेपको अर्थको रुपमा आफूहरुले बुझ्ने बताएको पनि उल्लेख थियो ।

गतसाता वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले एमसीसीलाई लिएर नेपालमा भैरहेका विवाद पछाडि चीनको हात रहेको हुनसक्ने टिप्पणी गरेका थिए ।