एमसीसी खारेज गर्नैपर्ने यी हुन् १४ कारण

नारायण शर्मा / काठमाडौं। नेपाल र नेपालीका शासन सत्ता सञ्चालनांगहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका वरिष्ठहरू हो। सोच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस्। गम्भीर, होसियार र जिम्मेवार बन्नुहोस्। कतैबाट कसैद्वारा ‘कागले कान लग्यो’ भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔं। अन्यथा पछि परिणाममा पुरै पछुताउनु पर्नेछ। यथार्थमा यहाँहरूले अहिले पारित गर्ने प्रयास-दुष्प्रयास गरिरहनु भएको अमेरिकी अर्धसरकारी व्यापारिक कम्पनी एमसीसीसँगको सम्झौता सार र समग्रमा यस्तो पो छ है :

१. यसको प्रायोजकका नीति, नेता, नियत र नियति नै बेठिक छन्।

२. वैचारिक, राजनीतिक, संवैधानिक, कूटनीतिक, आर्थिक, सामरिक र ऐतिहासिक आदि धेरै दृष्टिले बेठिक छ।

३. यो अनुदान हो कि ऋण हो कि, लगानी हो कि, साझेदारी हो कि, बन्धकी हो कि आफैमा अस्पष्ट, गाजेमाजे र विवादास्पद छ।

४. हाम्रो राष्ट्रिय अस्तित्व, स्वत्व, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानका साथै शान्ति र समृद्धिलाई समेत ध्वस्त पार्ने दुर्भावनायुक्त नै छ।

५. यसको परिकल्पना, प्रस्थापना, प्रावधान, प्रयोग र परिणाम पनि प्रिय, पाच्य, परोपकारी, परम्परागत र परिवर्तनीय पनि छँदै छैन।

६. यो शोषक, उत्पीडक, शासक र घातक आयोजना हो।

७. यो नेपाल र नेपालीको मात्र होइन विश्व क्रान्ति र विश्व शान्ति घाती, विश्व मुक्ति र विश्व प्रगति घातीका साथै सोझै हाम्रो मित्रराष्ट्र घाती समेत छ ।

८. यो आइपीएसको अंग हो। सैनिक गठबन्धन हो। २१ औं शताब्दीको नयाँ रुपरंग र भावभंगीमामा आएको नेटो हो। अमेरिकी सैनिक योजनाको पूर्वाधार हो। यो इष्ट इन्डिया कम्पनी पनि हो र सिधै बिआरआई विरुद्ध समेत घोषित रूपमै परिलक्षित छ।

९. यो झुट, कुट, फुट, लुट र भुटको लक्ष-उद्देश्य केन्द्रित छ।

१०. यो हेपाहा-मिचाहा, हुकुम-हैकमवादी, हस्तक्षेपकारी र हैरान-परेशानकारी छ।

११. यो तपाईँ शासकहरूभन्दा माथि, हामी जनता भन्दामाथि, संविधान भन्दामाथि र तपाईँ – हाम्रो सोच, शक्ति, बुद्धि र कल्पनाभन्दा माथि र विपरीत समेत छ।

१२. यसै भएर त यसलाई मात्रै सदनबाटै पासै गर्नै पर्ने, आउटडेटेड भइसक्दा पनि यो कथित सहयोग दिनै-लिनै पर्ने, लिनेलाई भन्दा दिनेलाई हतारो र चटारो हुने, पारित भएपछि कार्यान्वयन हुनुपर्नेमा पारित नहुँदै कार्यान्वयन गर्नु(गराउनुपर्ने भनिएको छ।

१३. त्यसैले स्पष्ट होऔं कि यो एमसीसीसँगको नेपालले गरेको भनिएको सम्झौता अस्वाभाविक, असंवैधानिक, आश्चर्यजनक, रहस्यमय, षड्यन्त्रपूर्ण र अमृतको लेपन लगाइएको विष भरिएको भष्मासुरे चरम राष्ट्रघाती आयोजना नै हो।

१४. ल भन्नुहोस् त, यस्तो सर्वघाती एमसीसी परियोजना किन स्वीकार गर्ने र किन खारेज नगर्ने ?

यो एमसीसी सम्झौता संशोधन, सम्बोधन, संकल्प र स्वीकार होइन कि अविलम्ब खारेज नै गरिनुपर्छ। यदि यो वास्तविकता बुझ्न र साहस गर्न हाम्रो शासन सत्ता सञ्चालनाङ्गहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका नेता र सदस्यहरूले नसक्ने अर्थात् आफ्नो बुद्धि, विवेक र बलबुताको प्रयोग गर्नेतर्फ केही नसोच्ने र नगर्ने तर खालि दलाली, चाकरी, चाप्लुसी र हजुरी गरेर हसुरी मात्रै रहने हो भने हामी सार्वभौम र शक्तिशाली समुदाय र समाजले सचेत, संवेदनशील, सु-संगठित, एकताबद्ध, गम्भीर र जिम्मेवार भएर सोच्ने, घोच्ने, झोस्ने र ठोस्ने गरेर खारेज नै गर्नु-गराउनुको विकल्प छैन। चेतना र साहस भया!