सत्ता गठबन्धनको बैठक सकियो, के निस्कियो निष्कर्ष ?

काठमाडौं। सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको हो। अब अर्को बैठक आइतबार पुन: बस्ने छ।

बिहीबार बसेको सत्तागठबन्धनको बैठकमा संसदबाट एमसिसी अनुमोदन गर्ने सहमति नजुटेपछि यस विषयमा सहमति जुटाउन गठबन्धनले शुक्रबार बिहान छलफल गरेको हो। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको स्थायी कमिटीको बैठक शनिबार बस्न थालेको र त्यहाँ छलफल गरेर अन्तिम धारणा राख्ने बताए पछि आधा घन्टा पनि नबसी बैठक सकिएको छ।

अमेरिकाले १६ फागुनभित्र एमसिसी अनुमोदन नभए सम्झौता रद्द हुन सक्ने कूटनीतिक दबाब दिएपछि प्रधानमन्त्री देउवाले यसलाई संसद् प्रवेश गराउने गृहकार्य गरेका हुन्। तर, पाँचदलीय सत्तागठबन्धनमा रहेका बहुमत दलहरू (माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा) ले अहिलेसम्म एमसिसी संसद् लैजान सहमति जनाएका छैनन्।

सत्ता गठबन्धनको बैठक बस्नु अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो। प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए।