संसद्मा एमालेको अवरोध

काठमाडौँ, ४ फागुन-प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले वेल घेराउ गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले विरोध सुरु गरेका हुन् । एमालेले आफूले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेकालगायतका विषय उठाएर अवरोध गर्दै आएको छ ।

सभामुख सापकोटाले कोभिड–१९ का कारण लामो समयदेखि बस्न नसकेको बैठकलाई सञ्चालन गर्न आग्रह गर्दै जनताका आवाजलाई मुखरित हुन दिन र राज्य सञ्चालनका लागि आवश्यक ४२ विधेयकमा छलफल गर्ने वातावरण निर्माणका लागि विशेष अनुरोध गर्नुभयो ।

सभामुखको पटकपटकको आग्रहपछि पनि विपक्षीले नाराबाजीसहित विरोध जारी राखेका थिए । सभामुख सापकोटाले सदनको अवरोधबारे नागरिक समाज, बौद्धिक जगतलेसमेत चिन्ता जाहेर गरेका सन्दर्भमा पनि ध्यानाकर्षण गराउनुभएको थियो ।

सभामुख सापकोटाले अवरोधका कारण संसदीय गतिविधि प्रभावहीन बन्न पुगेको र नागरिकबाट सिर्जित नागरिकको सर्वाेच्च निकायका सम्मानित सदनमा विधि र प्रक्रियाबाट आफ्ना विषय राख्न आग्रह गर्नुभयो । “संसद् सञ्चालन गरौँ, बैठक सुसञ्चालनको वातावरण सिर्जना गरौँ, म विशेष आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।