चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुंगा हौ कि’मा अनमोल र सुहाना रोमान्टिक अवतारमा देखा परे

काठमाडौं । वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको छ । संगीतकार कल्याण सिंहले हुक लाइनसँगै नयाँ संगीत गीतमा प्रयोग गरेका छन् । रवि मल्लले शब्द कोरेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापालाई रोमान्टिक अवतारमा देखाइएको छ ।सौर्य दैनिकमा खबर छ । शे(फोक्सुन्डोको रमणीय दृश्यमा छायांकन गरिएको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । भिडियोलाई सञ्जय लामाले उत्कृष्ट तरिकाले क्यामेरामा कैद गरेका छन् ।

झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको चलचित्रमा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।