भारतमै लुकेको छ अग्रवाल परिवार ! अनुसन्धानमा सीआईबी र राष्ट्र बैंक पनि जुट्यो

काठमाडौं । गएको पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवार भारतमै रहेको प्रहरीको प्राविधिक अनुसन्धाट पुष्टि भएको छ । उनीहरु मुग्लिनको बाटो हुँदै वीरगन्जबाट भारत प्रवेश गरेको खुलेको हो ।

अग्रवाल परिवारको खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली सक्रिय छ । परिसरका एक अधिकारीले भने, “उहाँहरु भारतमै रहेको प्राविधिक अनुसन्धानबाट खुलेको छ । कहाँ र कस्तो अवस्थामा हुनुहुन्छ भनेर आवश्यक अनुसन्धान जारी छ ।”

पुस २२ गते घरमा एक पत्र छाडेर नौजनाको परिवारसहित अग्रवालको परिवार सम्पर्कविहीन भएको थियो ।

अग्रवाल परिवारका सबैको मोबाइल स्वीच अफ छ । नेपालमा मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार सम्पर्कविहीन भएपछि उनको परिवारलाई ‘लोन’ दिएकाहरु प्रहरीको सम्पर्कमा आउन थालेका छन् ।

तीन अर्ब रुपैयाँभन्दा बढी ऋणमा फसेपछि सो परिवार सम्पर्कविहीन भएको बताइँदै आएको छ । सम्पर्कविहीन हुनेमा ओम अग्रवाल, उषा अग्रवाल, अमित, रुचिका, अभिषेक अग्रवाल, आरती अग्रवाल, नन्दनी, पार्थ र कनव अग्रवाल छन् । घर छाड्नुअघि अग्रवाल परिवारले घरभित्र एक पत्र छाडेर गएका छन् । सो पत्रमा बैंकको ब्याज तिर्न र अरू व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएको, मिटर ब्याजीको फन्दामा परी आफ्नो सम्पत्ति सिद्ध्याइसकेको उल्लेख छ ।

अग्रवाल परिवारले काठमाडौं छाड्दा आफ्नो गाडी प्रयोग नगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विगत २५ वर्षदेखि व्यापार गर्दै आएको परिवार एकाएक सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ ।

यस्तै, अग्रवाल परिवारले बैंकहरुबाट लिएको ऋणबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र राष्ट्र बैंकले सयुक्त रुपमा अनुसन्धान सुरु गरेको छ । अग्रवाल परिवारले विभिन्न चारवटा बैंकबाट ८० करोड रुपैयाँ बढी रकम ऋण लिएको पाइएको छ ।

सीआईबीका एक अधिकारीले भने, “राष्ट्र बैंक र हामी मिलेर सयुक्त अनुसन्धानमा छौं । केही बैंकले धितो राखेर त केहीले सामान हेरेर ऋण दिएका छन् । सबै प्रक्रिया हेरिरहेका छौं ।”