पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

काठमाण्डौ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ ।

मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १२५ र पेट्रोलको मूल्य प्रतिलिटर १४२ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १०९ र पेट्रोलको मूल्य प्रतिलिटर १३९ पुगेको थियो । इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग सस्तोमा पेट्रोलियम पदार्थ किनेर निगमले उपभोक्तासँग चर्को मूल्य लिएको भन्दै आलोचाना हुने गरे पनि इन्धनको मूल्य उच्च हुनुमा करको हिस्सा बलियो रहेको छ ।

 

पेट्रोलियम पदार्थमा सरकारले उच्च कर लिने गरेको छ । आईओसीबाट यही फेब्रुअरी १ तारिखका दिन प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलको खरिद मूल्य प्रतिलिटर ८४ रुपैयाँ ३२ पैसा, डिजेल प्रतिलिटर ८५ रुपैयाँ ४२ पैसा, मट्टितेल प्रतिलिटर ७९ रुपैयाँ १० पैसा, हवाई इन्धन (आन्तरिक र बाह्य) प्रतिलिटर ८० रुपैयाँ ९४ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५२२ रुपैयाँ ४९ पैसा पर्छ ।

खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बिमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४१ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ३२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र बाह्यमा १२ रुपैयाँ ६३ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ ९४ पैसा कर लिने गरेको छ ।