ज्ञवालीको विश्लेषण : ‘महरालाई जेल हालियो, सापकोटालाई महाअभियोग र प्रचण्डलाई बदनाम गरिँदैछ’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी) का नेता एवं अखिल नेपाल जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले एमसीसीका पक्षधरहरू माओवादीलाई बदनाम गर्न लागिपरेको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ज्ञवालीले एमसीसीकै कारण पूर्वसभामुख कृष्णबहादुर महरालाई जेल हालिएको, वर्तमान सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगको कोशिस भइरहेको र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बदनाम गरिएको बताएका छन्।

यस्तो छ ज्ञवालीको टिप्पणी।

‘‘महरालाई एमसीसीकै कारण जेल हालियो, सापकोटालाई महाभियोग लगाइँदैछ, प्रचण्डलाई चिठीमा पास गर्ने प्रतिबद्धता जाहेर गरेको भनेर बदनाम गरिँदैछ, सबै न्युज सञ्जालमा विदेशी लगानी छ र माओवादीको विरोध बदनाम गर्ने मिसन जारी छ, ओली, शेरे, बाबुराम, दरवारिया, विवेकशील सबै ज्यान फालेर एमसीसी पास गर्न लागेका छन्। तर तिनको विरोधको सट्टा जयजयकार मनाइरहेछन्, सामन्त गोयल, नरवाणे र मोदीका दासलाई महान् राष्ट्रवादी भन्छन् र भजन गाउँछन्, इण्डो प्यासिफिक अमेरिकी सैन्य गठवन्धन गर्नेहरू पनि महान् राष्ट्रवादी भनिदाछन्, साँढे तीन वर्ष जसले तानाशाही चलायो र देशलाई खाल्टोमा जाक्यो त्यो विकासवादी भनिँदैछ, आखिर विदेशी लगानीका सञ्चार सञ्जालले कसरी देशद्रोह र राष्ट्रघातमा साथ दिन्छन् र ठिक बेला देशलाई छुरी रोप्छन् भन्ने यसले पुष्टि गर्दैन र ?’’

अर्को प्रसंगमा नेता ज्ञवालीले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले कुनै हालतमा पास गर्न नहुने बताएका छन्। एमसीसीमा राष्ट्रिय सहमति आवश्यक रहेको र त्यस्तो सहमति संसदबाहिर रहेका दलहरूसँग पनि खोजिनुपर्ने उनको तर्क छ।

ज्ञवाली भन्छन्, ‘‘विरोध गर्नेलाई मसला मिलेछ, प्रचण्डलाई बदनाम नगरे ओली कसरी माथि आउने ? उत्निखेरै पास गराउने षड्यन्त्र चिर्न समय टाढा पुराउनै पर्थ्यो। तर त्यसमा राष्ट्रिय सहमति भनिएको छ। त्यो सहमति चाहिँ संसदबाहिरका शक्तिको पनि हुनुपर्छ कुरो त्यत्ति हो। त्यो चिठीकै आधारमा प्रचण्डलाई बदनाम गराउनु एउटा षड्यन्त्रको खेल मात्रै हो।’’