काँग्रेसका पाँच भ्रातृ संस्थामा नयाँ नेतृत्वको खोजी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘नेतृत्व विहीन’ पाँच भ्रातृ संस्थामा नयाँ कमिटी ल्याउनुको विकल्प नभएको बताएका छन् । काँग्रेसमा भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नयाँ कमिटी ल्याइने थापाले बताएका हुन् ।

२७ गतेको कार्यसम्पादन समितिको बैठकअघि म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा सोमबार छलफल हुने थापाको भनाइ छ । महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगाना र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्य भएपछि विधानत स्वतः पद रिक्त छ । उनीहरूले जिम्मेवारीबाट अलग भएको घोषणा भने गरेका छैनन् । तर उनीहरुलाई अब चाहेर पनि महाधिवेशन गर्ने जिम्मेवारी दिन नसकिने थापाले बताए ।
उनले भने, ‘हाम्रो पार्टीको विधानको धारा ४२ मा भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए निजको भ्रातृ संघको पद स्वतः रिक्त व्यवस्था छ । अब हामीले चाहेर पनि केही गर्न सक्दैनौँ ।’
उनका अनुसार योभन्दा पहिलाको विधानमा भ्रातृ संस्थाको मान्छे निर्वाचित भएर पार्टीमा आउँदा रोजाइएको विषय हुन्थ्यो । तर अहिले बाध्यात्मक भएकाले अब नयाँ कमिटी बनाउनेभन्दा अर्को विकल्प भएको थापाको जिकिर छ । उनले भने, ‘हामीले विधान बनाउँदा पनि पार्टीमा गएपछि खाली हुने व्यवस्था गरिदियौँ । अब खाली भयो । अब नयाँ कमिटी बनाउने भन्दा अर्को विकल्प छैन ।’
नयाँ कमिटी बनाएर नयाँ कमिटीलाई अधिवेशनतिर लिएर जानुपर्ने अवस्था आएको थापाले बताए । ‘एउटा त उहाँहरूको म्याद पनि सकियो भने अर्कोतिर उहाँहरू पार्टीमा आउनुभयो । त्यसैले अब नयाँ कमिटी आउने अवस्था बन्यो,’ उनले भने ।
नयाँ कमिटी ल्याउनेबारे सोमबार आन्तरिक छलफल हुने थापाले रातोपाटीलाई बताए । उनले भने, ‘भ्रातृ संस्थाको नेतृत्वको विषयमा हामीलाई चाँडो निर्णयमा पुग्नुपर्ने दबाब हो ।’

थापाका अनुसार ६ महिनाभित्र महाधिवेशन गर्ने गरी नेतृत्वका आएका राजीव ढुंगाना दुई वर्षपछि अधिवेशन नगरेर बाहिरिने अवस्था आएको छ । ढुंगाना नेतृत्वमा ११० सदस्यीय कमिटी बनाउने भनिए पनि १० पदाधिकारीमा कमिटी भंग हुने सम्भावना बढेको छ ।

प्रत्येक दुई–दुई वर्षमा अधिवेशन हुने व्यवस्था भए पनि ०७३ भदौपछि नेविसंघमा महाधिवेशन हुन सकेको छैन । यस्तै तरुण दलमा पनि नयाँ कमिटी ल्याएको अवस्थामा जीतजंग बस्नेत नेतृत्वको कमिटी भंग हुने छ । २०७३ मङ्सिरमा तरुण दलको अध्यक्ष बने बस्नेत पाँचसम्म कमिटीलाई पूर्णता बाहिरिने अवस्था बनेको छ । ९५ सदस्यीय कार्यसमितिमा चार जना पदाधिकारीमै पाँच वर्ष बितिसक्यो । तीन वर्षे कार्यकालमा बस्नेत नेतृत्वको कार्यसमितिले थप दुई वर्ष बिताइसक्दा पनि तरुण दलले अधिवेशन गर्न असफल रह्यो ।

यस्तै ०७३ असोजमा भएको महाधिवेशन महिला संघमा नयाँ नेतृत्वको खोजी भएको छ । महिला बालबालिका मन्त्री र पार्टीको केन्द्रीय सदस्य भइसक्दा पनि रेग्मीले महिला संघको जिम्मेवारी छोडेकी छैनन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पार्टीको केन्द्रीय सदस्य भएपछि महिला संघमा नयाँ कमिटी ल्याउनुपर्ने बाध्यता छ ।

नयाँ कमिटी आए नेपाल दलित संघमा मीन विश्वकर्मा एक दशकको राज सकिने छ । तीन वर्षे कार्यकाल रहेको संघको चौथो महाधिवेशन २०६९ सालमा सम्पन्न भएका १० वर्ष भइसकेको छ । योबीचमा विश्वकर्मा तीनपटक केन्द्रीय सदस्य भइसके । तर, उनले महाधिवेशन नगरेर कार्यकाल लम्ब्याउँदै दशक बिताएका छन् ।

२०७५ साल वैशाखमा दोस्रो महाधिवेशनबाट मुस्लिम संघको नेतृत्वमा आएका सत्तार पार्टी केन्द्रीय सदस्य भएपछि त्यहाँ पनि नयाँ कमिटीको खोजी भएको छ ।

बाँकी भ्रातृ तथा शुभेच्छुकको के हुन्छ ?

वर्षौँसम्म अधिवेशन नगराउने बाँकी भ्रातृ र शुभेच्छुक संस्थामा पनि नयाँ कमिटी ल्याउने कि भन्ने विषयमा छलफल भइरहेको महामन्त्री थापाले बताए । ‘पाँचवटा बाहेक बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको पनि वर्षौँदेखि अधिवेशन भएको छैन । खाली म्याद थपेको छ, बसेको छ । यसको बारेमा पनि हामी छलफलमा छौँ,’ उनले भने ।

फेरि म्याद थपिदिँदा पनि महाधिवेशन गर्ने आधार नरहेको उनको भनाइ छ । ‘यत्रो वर्ष अधिवेशन नगरेको मान्छेले अहिले केको आधारमा गर्छ ?,’ थापाको प्रश्न छ,  ‘त्यसैले यिनीहरूको बारेमा पनि के गर्ने भनेर खाका बनाउनुपर्ने भएको छ ।’

२०६४ सालमा गठन भएको किसान संघले अहिलेसम्म अधिवेशन गर्न सकेको छैन । यस्तै नेपाल प्रजातन्त्र सेनानी संघले पनि २०६९ सालपछि अधिवेशन गरेकै छैन । २०७३ साल केन्द्रीय अधिवेशन गरेको नेपाल भूतपूर्व सैनिक संघ र २०६४ सालदेखि नेपाल आदिवासी जनजाति संघको पनि अधिवेशन भएको छैन । अध्यक्ष इन्द्रबहादुर गुरुङले केही दिनअघि राजीनामा बुझाएका छन् । यस्तै २०६६ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले एकपटक पनि अधिवेशन गरेको छैन । नेपाल तामाङ संघको अध्यक्षमा १२ वर्षदेखि केवलबहादुर तामाङ रहेका छन् भने नेपाल राष्ट्रिय मगर संघको पनि नियमित अधिवेशन भएको छैन ।

२०७५ साल वैशाखमा दोस्रो महाधिवेशन गरेको नेपाल मुस्लिम संघमा पनि महाधिवेशनको सुरसार छैन । नेपाल ठाकुर समाजले २०६७ साल वैशाखदेखि महाधिवेशन गरेको छैन । ठाकुर समाज ११ वर्षदेखि पुरानै नेतृत्वबाट सञ्चालित छ ।

काँग्रेसका १८ शुभेच्छुक संस्थाहरूमध्ये अधिकांश नियमित अधिवेशन हुन सकेको छैन । नेपाल प्रेस युनियन, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी लोकतान्त्रिक संस्था महासंघ र नेपाल लोकतान्त्रिक शेर्पा संघले अधिवेशन भएको छैन ।

यस्तै नेपाल कुमाल संघलगायत धेरैको नियमित कार्यकाल सकिएको वर्षौं हुँदासम्म पनि अधिवेशन हुन सकेको छैन । सांस्कृतिक संघ पाँच वर्षदेखि चारजना पदाधिकारीमा सीमित छ । सांस्कृतिक संघले पनि बारम्बार म्याद थप्दा पनि अधिवेशन गर्न सकेको छैन ।