देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्रप्रति नारायणकाजीको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि राजनीति सरगर्मी बढेको छ ।

पत्रमा नेताद्वयले एमसीसी संसदबाट अनुमोदन गराउने प्रतिबद्धता गर्दै यसका लागि ४-५ महिनाको अतिरिक्त समय मागेका छन् । २९ सेप्टेम्बर २०२१ मा लेखेको पत्रप्रति बहस बढेको छ ।

अर्थमन्त्रालयका एक सहसचिवले पठाउँदा हुने पत्र देशको कार्यकारी प्रमुख र अर्का पूर्वप्रधानमन्त्रीले संयुक्तरूपमा पठाउँदा देशको मान/प्रतिष्ठामा आँच आएको भन्दै टिप्पणी बढेको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पत्रप्रति असन्तुष्टि जनाएका छन् । उनले अर्थमन्त्रालयबाट पत्र लेखाएको भए राम्रो हुने प्रतिक्रिया दिए । ‘बहालवाला प्रधामन्त्री र पूर्वप्रधानमन्त्री आफैंले पत्र नपठाएको भएको हुन्थ्यो । यो काम अर्थमन्त्रालयमार्फत गराएको भए राम्रो हुन्थ्यो,’ नेता श्रेष्ठले भने ।