‘बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँ, शव बोकेर घाट जानुपर्ने बाध्यता आइलाग्यो’v

प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दुर्घटनामा पर्‍यो।

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्कासहित ८ जनाले ज्यान गुमाए। ४ जना घाइते भएका छन्। घाइतेमध्ये बेहुलीसहित ३ जना गम्भीर छन्।

२५ वर्षीय दानबहादुर खड्काको बिहेबाट फर्किंदै गरेको जीप गौमुखी गाउँपालिकाका ६ ओखरपाटामा दुर्घटना हुँदा सोही वडाको लिवाङका ३९ वर्षीय उपसभापति खड्कासहित ८ जनाको मृत्यु भएको हो।

दानबहादुर वसन्तका काकाका छोरा हुन्।

घर परिवार भित्रकै मानिसमात्रै बिहेमा जाने कुरा भएकाले सीमित व्यक्ति जन्ती गएका थिए। दानबहादुरका बुवा आमा भने बिहेमा गएका थिएनन्।

नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्का

बेहुली लिएर फर्किंदै गर्दा दुर्घटनामा वसन्तकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको मृत्यु भएको छ। वसन्तका १२ वर्षीय छोरा भिषण खड्का जन्ती नगएकाले घरमै छन्।

लिवाङका दीपक वलीले सेतोपाटीलाई दिएको जानकारी अनुसार वसन्तीको घटनास्थलमै र वसन्त तथा उनकी छोरीको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो।

‘बिहान हामीले उद्धार गर्दासम्म बाबु-छोरीको ढुकढुकी तातै थियो,’ वलीले भने, ‘एम्बुलेन्स पनि पाइएन अरू गाडी खोजेर अस्पताल पुर्‍याउन नै ढिला भयो।’

दुर्घटनामा मृत्यु हुने अधिकांश नजिकका नातेदार छन्। कांग्रेस उपसभापति वसन्तका साला ३२ वर्षीय खिमबहादुर खत्री, वसन्तकी बुहारी तथा बेहुला दानबहादुरकी दिदी २९ वर्षीया केशरी खड्का, वसन्ती, भाउजु ५२ वर्षीया नन्दी खड्काको मृत्यु भएको छ।

जीप चालक ५२ वर्षीय बलबहादुर बुढा मगर पनि सोही गाउँका हुन्।

६ जना परिवारभित्रकै सदस्य र एक जना चालकसहित सात जना एकै गाउँका मानिसको मृत्यु भएको गाउँका एक युवक दीपक वलीले जानकारी दिए।

त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएकी बेहुली १९ वर्षीया रीमा जिसीकी बहिनी नौबहिनी ६ लुङकी १८ वर्षीया बिपना जिसीको पनि मृत्यु भएको छ।

त्यस्तै घाइते बेहुलाका सहोदर भाइ १७ वर्षीय नरेश खड्काको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

यो खबर तयार पार्दासम्म बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढामगर र २५ वर्षीया साबित्रा जिसीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। बेहुलीको एउटा हात नै चुँडिएको छ। बेहुलाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

लिवाङमा कसैको घरमा चुलो बलेको छैन – दीपक

लिवाङ गाउँका घर परिवारभित्रकै ६ जनासहित ७ जनाको मृत्यु र अन्य आफन्त गम्भीर घाइते भएपछि लिवाङ गाउँमा सन्नाटा छाएको छ।

‘बेहुली भित्र्याउने तयारीमा रहेको घरको उल्लास कस्तो हुन्छ र आज सोही गाउँबाट ७ जनाको शव निकाल्नुपर्दा कस्तो कारूणिक अवस्था होला, तपाईं आफैं कल्पना गर्नुहोस्,’ वलीले सेतोपाटीसँग भने, ‘गाउँमा कसैको घरमा आगो बलेको छैन। नरूँने कोही छैन। गाउँमा सन्नाटा छाएको छ।’

वलीका अनुसार सबै गाउँले अहिले पनि दुर्घटनास्थल ओखरपाटामै भेला भएका छन्।

‘हामी सारा गाउँले शोकमा छौं,’ वलीले भने, ‘गाउँमा यति ठूलो बज्रपात पर्ला भन्ने कल्पना पनि गरिएको थिएन।’

वलीका अनुसार दुर्घटनामा ज्यान गुमाएका वसन्त खड्का र उनी निकै मिल्ने साथी हुन्। शुक्रबार बेलुका ७ बजेतिर वलीसँग आफ्नो फोनमा कुरा भएको उनले बताए।

‘म हिजो दिनभर व्यक्तिगत कामले फोन सम्पर्क नहुने ठाउँमा पुगेँ र बेलुकीमात्रै मैले उपसभापतिज्यूलाई फोन गरेको थिएँ,’ वलीले भने, ‘एक जना गाउँकै भाइले गाउँपालिकाको अहेबमा नाम निकालेकोमा उहाँले खुसी व्यक्त गर्नुभएको थियो र राति वा भोलि बिहान घर फर्किन्छु भन्नुहुन्थ्यो। उहाँलाई बिहान अचेत अवस्थामा उद्धार गर्नुपर्दा मैले आफूलाई सम्हाल्नै सकिनँ।’

वलीले घर परिवारका सीमित मानिसमात्रै जन्ती जाने निर्णय हुनु र आफू पनि फोन सम्पर्क नहुने ठाउँमा काम विशेषले पुगेको हुँदा उपसभापतिसँग छुटेको बताए।

‘यदि घर परिवारबाहेक गाउँका अरू मानिस पनि जाने हुँदा म पनि जाने थिएँ र त्यस्तोमा हामी सायद मोटरसाइकलको यात्रा गर्ने थियौं होला,’ उनले अगाडि भने, ‘त्यसले उहाँलाई जोगाउँथ्यो कि! हाम्रो दाजु भाइकोभन्दा निकट सम्बन्ध थियो। उहाँ जहाँ जाँदा पनि मलाई सोध्नुहुन्थ्यो र म पनि उहाँलाई सोध्ने गर्थेँ।’

मृतक सबैको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको वलीले जानकारी दिए। घटनास्थलदेखि बिजुवार अस्पताल पुग्दा गाडीमा दुई घन्टा लाग्ने उनले बताए।

पोष्टमार्टमपछि शव बुझेर अन्त्येष्टि गर्नेबारे छलफल गर्ने उनले बताए।

‘जे-जस्तो बज्रपात परे पनि अब छातीमाथि ढुंगा राखेर हामी मृतकहरूको अन्तिम संस्कार गर्नेछौं,’ वलीले भने, ‘ बेहुली भित्र्याउने उल्लासमा रहेको लिवाङका गाउँलेहरू यतिखेर सात शव बोकेर घाट जानुपर्ने बाध्यता आइलागेको छ।’