सारेगमप लिटल च्याम्प विजेता कृपा भन्छिन्, ‘भोटिङका लागि खासै खर्च गर्नुपरेन’

नेपालमा पहिलो पटक आयोजित सारेगमप लिटल च्याम्प नेपालको उपाधि कृपा पौडेलले हात पारेकी छिन् । शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै नगद १६ लाख जितेकी छन् । शो नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्राएको प्रतियोगितामा देश विदेशका ३० हजार भन्दा वढी डिजिटल र फिजिकल अडिसनमा प्रतिस्पर्धी सहभागी थिए । सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५, १५ र उत्कृष्ट ५ छानिएका थिए । प्रस्तुत छ, उपाधि विजेता कृपा पौडेलसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको संक्षिप्त कुराकानीः                                                           

‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’ विजेता घोषित हुँदा कस्तो अनुभूति भइरहेको छ ?

– खुसीको सीमै छैन । एकदमै राम्रो लागिरहेको छ ।  चारैतिरबाट रिप्लाई दिन नभ्याउने बधाईको ओइरो लागेको छ । मेरो जीवनमा यस्तो कहिल्यै भएको थिएन । अनगिन्ती बधाई आइरहेका छन् ।

विजेता बन्छु भन्ने लागेको थियो त ?
  विजेता हुन्छु भन्ने लागेको थिएन । मैले उपाधि जित्छु भन्ने सोचेर पनि आएको थिइन । बालबालिकाको अहिलेसम्म नेपालमा यस्तो रियालटी शो आएको थिएन । पहिले नेपाल आइडलमा बुझ्दा १६ वर्ष माथिकाले सहभागी हुने भन्थे । मैले कि हाम्रो लागि रियालटी शो आउनुपर्यो  कि म ठूली भएपछि जानु पर्यो भनेर सोच्थे । यो रियालटी शो सुरु भयो । यसमा म गायन प्रतिभा देखाउनु भनेर आएको हो । जित्छु भन्ने लागेको थिएन ।
  प्वाइन्ट फाइब अंकले ४ पटक दोस्रो भएको मेरो आजसम्मको अनुभव थिएन । विजेता हुने भाग्यमा छैन भन्ने ठान्थे । विजेता घोषित हुँदा पहिले त पत्याउन सकेको थिइन । आफू जसरी पनि विजेता चुनिनुपर्छ भन्ने चाहिँ थियो ।

आफैले मूल्याङ्कन गर्दा के कुराले विजेता बनायो जस्तो लाग्छ ?

मैले निकै मिहिनेत गरेकी थिएँ । मैले गाएको पहिलेदेखि नै सबैले मन पराइ दिनुभयो । दर्शक, श्रोता, साथीभाइ, गुरु, निणार्यक र मलाई पछाडिबाट सपोर्ट गर्ने देश विदेशमा रहेका सहयोगी हातहरूको पनि यो विजय हो ।

आगामी दिनमा के कस्ता चुनौती रहेका छन् ?

हिजो अस्तिका भन्दा धेरै चुनौती थपिएका छन् । जीवनमा तगारो आइरहेको हुन्छ । आगामी दिनमा सबैले मलाई मन पराउनु हुन्छ । यो शो मैले जिते । अहिले फ्यान तथा शुभचिन्तकहरुको विभिन्न नकारात्मक प्रतिक्रिया पनि हेर्दैछु । त्यसले मनमा अलिकति दुख्छ । त्यसले आगामी दिनको यात्राको लागि केही फरक पर्दैन । म एकदमै बलियो छु । अहिले जतिले सपोर्ट गरेका छन्, त्यो भए पुग्छ । आगामी दिनमा गीत गाएँ भने अहिलेजस्तो माया पाउँछु कि पाउँदिन भन्ने छ । ४ बर्षको उमेदेखि मैले गाउन

थालेकी हु । अहिले १४ वर्ष भए । संघर्ष गर्दै जान्छु ।

कस्ता गीत, सङ्गीत मनपर्छ ?

सबै प्रकारका गीत सङ्गीत मनपर्छ  । बढी मनपर्ने सेमी क्लासिकल हो । पुराना गायक गायिका नारायण गोपाल, तारादेवीका गीतहरू मनपर्छ बढी ।

संगीत पनि सिक्नु भएको छ ?

केही समयदेखि नियमित सिक्दैछु । गायनबाटै केही गरौँ भन्ने छ । बिस्तारै बिस्तारै अबका कदम चाल्दै जान्छु । सङ्गीत अध्ययन गरेर अगाडि लैजाने बिचार गरेकी छु ।

‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’ को मञ्चलाई कसरी हेर्नु भएको छ ?

यो कार्यक्रमलाई म बिर्सिन सक्दिन । यो बालबालिकाको गायन प्रतिभा निखार्ने एउटा उत्तम थलो हो । मेरो सपना सुरुमा पुरा हुने थलो पनि बन्यो । मेरो गायन कला देश तथा विदेशसम्म पनि यो मञ्चबट देखाउन सफल भए ।

यस अगाडि कुनै प्रतियोगितामा पनि भाग लिनु भएको थियो ?

रियालटी शोमा भाग लिएको यो पहिलो पटक हो । स्थानीय स्तरमा आयोजना भएका केही कार्यक्रममा भने हारेको थिए ।

भोटिङमा धेरै खर्च भयो कि ?

मलाई देश तथा विदेशबाट सबैले धेरै माया गर्दिनुभयो । त्यसले घरबाट भोटिङका लागि त्यस्तो केही खर्च गर्नुपरेन । सबैले मेरो विश्वास गरेर कहिल्यै तिर्न नसक्ने एउटा गुन लगाउनु भएको छ । त्यो म कहिल्यै बिर्सन्न ।

‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को अर्को सिजनमा सहभागी हुन चाहनेहरुलाई के भन्नुहुन्छ ?

गायनमा लाग्ने सोच भएका जति पनि हुनुहुन्छ, तपाईंहरुका लागि ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’ एउटा उपयुक्त प्लेटफर्म हो । यस्ता रियालटी शो मा सहभागी हुनुपर्छ । आफूमा रहेको ट्यालेन्ट देखाउनुपर्छ । मिहिनेत एकदमै धेरै गरेर आउनु होला । सहभागी जनाउँदा पनि धेरै कुरा सिक्न, अगाडि बढ्न जानिन्छ । जित र हार बेग्लै कुरो हो । (रातोपाटीबाट)