देउवा र प्रचण्डलाई एमसिसीको जवाफ: फेब्रुअरी २८ सम्म निर्णय गर्नुभएन भने अर्को कदमबारे छलफल हुन्छ

अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे नेपालको राजनीति तरंगित भइरहेका बेला एमसिसीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै फेब्रुअरी अन्तिमसम्म यसबारे निर्णय लिन भनेको छ।

एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमोउद बाहले बिहीबार लेखेको पत्रमा फेब्रुअरी २८ सम्म नेपालले एमसिसी सम्झौता संसदबाट अनुमोदन नगरे मार्चमा बस्ने एमसिसी बोर्ड बैठकले सहयोगबारे अर्को कदम चाल्न छलफल गर्ने उल्लेख छ।

यसअघि गत सेप्टेम्बर २९ मा देउवा र प्रचण्डले एमसिसीलाई पत्र लेख्दै  एमसिसी संसदबाट पास गर्न चार, पाँच महिना लाग्ने भएकाले त्यतिञ्जेल कुरिदिन अनुरोध गरेका थिए।

देउवा र प्रचण्डले चार/पाँच महिनाको समयमा आफूहरूले सरकारी र अन्य सञ्चारमाध्यमबाट एमसिसीबारे फैलिएका नकारात्मक प्रचारलाई चिर्ने र संसदहरूसँग छलफल गरेर अनुमोदन हुने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

सोही पत्रको जवाफमा एमसिसीले उनीहरूले मागेको पाँच महिना फेब्रुअरीमा सकिने भएकाले त्यतिञ्जेल निर्णय गर्न भनेको हो।

‘डिसेम्बर १४ मा बसेको एमसिसी बोर्ड बैठकले नेपालमा एमसिसी सम्झौताको अवस्था र सेप्टेम्बरमा प्राप्त पत्रबारे रिभ्यू भयो। पत्रमा तपाईंहरूले एमसिसी अनुमोदन गर्न चार/पाँच महिनामा विभिन्न काम गर्ने भनेर गरेको प्रतिवद्धतालाई बैठकले नोटमा राखेको छ,’ पत्रमा भनिएको छ।

आफूले गरेको प्रतिवद्धताअनुसार एमसिसी पास गर्न सांसदहरू र गठबन्धनका अरू दलहरूसँग मिलेर काम गर्न एमसिसीले अनुरोध गरेको छ।

एमसिसीको बोर्ड बैठक मार्चमा बस्दै छ।