भैरव अर्यालको मृत्युपश्चात फेला परेको राजीनामा पत्र

गोरखापत्र संस्थानलाई
श्रीमान् अध्यक्ष तथा महाप्रबन्धक
गोरखापत्र संस्थान,
धर्मपथ, काठमाडौँ

श्रीमान्,

भैरव अर्याल

केही समययतादेखि मेरो स्वास्थ्य बिग्रँदै गएको र आफ्नो आफैँले नियन्त्रित गर्न मलाई असाध्यै गाह्रो पर्ने महसुस गरिरहेकाले र यस्तो स्थितिमा गहन जिम्मेदारी सकीनसकी बोकिरहन मलाई अत्यन्त सङ्कोच लागेकाले यो लेख्तै छु ।

२०१८ साल फागुन ५ गतेदेखि अविछिन्न रुपले आफ्नो धर परिवार र इष्टमित्र कसैको कति परवाह नगरी मैले गोरखापत्रको सेवा गर्दै आएको र मेरा सहकर्मीहरु सबैमा विदितै भएको कुरा हो । विगत पन्ध्र वर्षहरुभित्र मैले कुनै ठोस देखिने योगदान केही दिन नसके पनि प्रशस्तै श्रम गोरखापत्रमा दिएको छु; कैयौँ रात, बिहान र दिन दिएको छु । आफ्नो र आफ्नो परिवारको दिन-रातका खुसीहरु त्यहीँ सेलाई काम गर्दै आएको छु ।

अहिले पनि आफू संस्थाकै सोचेर भोलिदेखि धेरै प्राणीको हातमुख नजोरिने स्थिति हुँदाहुँदै पनि यो जिम्मेदारीबाट अवकाश लिनु आफ्नो परम कर्तव्य सम्झिरहेको छु ।

मैले संस्थानलाई दिनु केवल मैले लिएको सापटको बाँकी रु. ४ हजार जति छ । मेरो जहान परिवारको आपत्-विपत्लाई सोची माफी गरिदिनुहुन विनम्रतापूर्वक आवेदन गर्दछु र सो नमिलेमा मेरो सञ्चित कोषबाट त्यसको कट्टीमट्टी गरी त्यसमध्येको बाँकी र नियमपूर्वक मैले पाउने उपदान पाउने आशा पनि गर्दछु ।

श्रीमान् ! गोरखापत्र-संस्थानले दिनप्रतिदिन गर्दै गएको उन्नति देख्दा र आफूले पाएको जिम्मेदारी अनुसार अझ बढि बढि काम गनुपर्ने बखत यसरी अवकाशको लागि राजीनामा प्रस्तुत गर्नुपर्दा मलाई अत्यन्त आत्मग्लानि लागेको छ । तर पनि लेख्तै छु, यसैलाई नै मेरो राजीनामा ठानी स्वीकृत गरियोस् । यता केही समयदेखिका मेरो जिम्मेदारीका काममा कुनै गल्ती, त्रुटि छन् तिनको लागि क्षमाप्रार्थी छु । मैले पाउने रकम-सकम मेरी श्रीमती शोभादेवी अर्याल जसको नुहारनको नाम नन्दकुमारी अर्याल पनि छ को माध्यमम मेरो छोराछोरीहरुलाई प्राप्त गराइदिने आशा गर्दछु ।

गोरखापत्रको सेवा छाड्नुको साथै म देश र धरतीलाई छाड्दै छु, कारण मेरो अब केही गर्न नसक्ने भई भित्रैदेखि कुँजिदै आएकाले र कलम वा कोदाली केही पनि चलाएर आफू र आफ्ना आश्रितलाई संरक्षण दिन या देशको निम्ति केही गर्न नसक्ने भएकोले मैले अब आफ्नो बाँच्नु पनि बेकार सम्झेको छु । आशा छ मेरो राजीनामा स्वीकृत हुनेछ ।

आज्ञाकारी
भैरव अर्याल