लोकदोहोरीमा जमेकी आँपपीपलकी सरिता

गाेरखा- गायिका सरिता कार्की लोकदोहोरीमा जम्न थालेकी छन् ।

दुई दर्जन बढी दोहोरी गीतका एल्बम निकालिसकेकी कार्कीले लोक लयलाई नै भविष्य बनाउने उद्देश्य पनि राखेकी छन् ।

‘गाउँदेखि सिकेको भाकालाई नै आगामी दिनमा पनि राम्रो बनाउने योजना छ ।

गायनका अन्य विधामा भन्दा लोकदोहोरीमै भविष्य बनाउने लक्ष्य राखेकी छु,’ उनले भनिन्, ‘हरेक ठाउँमा मनोरञ्जन दिने विधा र संस्कृतिको पहिचान दिलाउने विधा पनि लोक नै हो त्यसैले यसैमा सक्रिय हुनेछु ।’

गोरखाको आँपपीपलमा जन्मिएकी कार्की गाउँका पूजा, सांस्कृतिक कार्यक्रममा गीत गाउँदा गाउँदै लोकदोहोरी साँझ हुँदै रेकर्डिङ स्टुडियोसम्म पुगिन् । अहिले देशैभर स्टेज कार्यक्रम गर्दै आएकी छन् ।

पाँच दिदीबहिनी र दुई दाजुभाइमा कान्छी कार्की गोरखा बजारदेखि काठमाडौं हुँदै देशविदेशमा चर्चित नाम पनि हो ।

१४ वर्षको उमेरदेखि गायनलाई पेसा बनाएकी कार्कीको ‘कति रुनु छ र ?’ बोलको गीतले निकै चर्चा पाएको थियो । कार्कीले ‘काफल पाक्यो’ चलचित्रका लागि पनि गीत गाएकी छन् । उनलाई गीतमा रमाउने धित झन् बढेको छ ।  गोरखासन्देशबाट