एउटा क्रूर समयको साक्षी सिर्जनको `मोक्ष´

सिर्जन अविरल पचासको दशकदेखि नेपाली साहित्य विशेषगरी कविताका क्षेत्रमा स्थापित नाम हो । सिद्धहस्त कवि र सञ्चारकर्मीका रूपमा सुपरिचित सिर्जन उपन्यासकारको नवीन परिचय लिएर पुनः पाठकसामु उपस्थित छन् ।

`म आकाश हेरिरहेछु´ कवितासङ्ग्रह (२०६०), `आदिगायक सेतुरामदेखि दिलमाया खाती´ जीवनीसङ्ग्रह (२०६१ ), `क्यान्टोनमेन्ट र अरु कविताहरु´ कवितासङ्ग्रह (२०७०) प्रकाशित गरिसकेका सिर्जनको `मोक्ष´ उपन्यास (२०७८) चौंथो साहित्यिक एवम् प्रथम औपन्यासिक कृति हो ।

सांग्रिला पुस्तक प्रालिको प्रकाशन रहेको प्रस्तुत उपन्यासले नेपालको दसवर्षे द्वन्द्वलाई आधारभूमि बनाएको छ ।

संरचना
समयको कथा ( पृ.१–१७), नसकिने युद्ध (पृ.१८–३७), थवाङमा शारदा (पृ.३८–४५), कारागार(पृ.४६–५३), रेडियो समय(पृ.५४–६६), कन्टेनर (पृ.६७–७८), स्मृति कोलाज(पृ.७९-९०), इच्छाको बाटो (पृ.९१–९९), आविष्कारको कथा(पृ.१००-१११), निरीह अदालत (पृ.११२-१२३), पलायन (पृ.१२४–१३३), समयको साक्षी (पृ.१३४–१४७), दु:खको गीत (पृ.१४८–१५८), आमाको अनुहार (पृ.१५९–१७३), फरक बाटो (पृ.१७४-१८३), कठोर समय (पृ.१८४–२०२), मोक्ष (पृ.२०३-२१६) र सुनाउन नपाएको कथा (पृ.२१७–२३१) गरि मोक्ष उपन्यास जम्मा अठार परिच्छेद तथा २३१ पृष्ठमा संरचित छ ।

विषयवस्तु
नेपालको इतिहासमा करिब पचासको दशकदेखि साठीको दशकसम्म गुज्रिएको द्वन्द्वलाई विषयवस्तु बनाएर धेरै साहित्य लेखिए । प्रस्तुत उपन्यास पनि नेपालको दसवर्षे द्वन्द्वलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास हो । यसलाई युद्धसाहित्य भन्न सकिन्छ । एउटा क्रूर समयको चित्र जुन लेखक आफैंले भोगेको , देखेको र अनुभूत गरेको छ, यसमा चित्रित छ । आफूमाथिको अन्याय, अत्याचार, शोषण, दलन र असमानताको मुक्तिका निमित्त युद्धमा होमिएकाहरुलाई अन्त्यमा के प्राप्त भयो त भन्ने गम्भीर प्रश्नचिन्हको उठान उपन्यासमा गरिएको छ । युद्धको अन्त्य कहिल्यै नहुने र क्रान्तिका लागि संघर्षरत पात्रहरू अन्त्यमा युद्धबाट मोक्षको मार्गमा प्रवृत्त भएसँगै उपन्यासको अन्त्य भएको छ । लेखककै शब्दमा `समयको कथामा दलन र सङ्घर्ष । प्रेम , युद्ध र जीवनदर्शन। बा हिंड्ने अलग बाटो र आमाको आँसु टिपेर मनको अक्षरले लिपिको उपन्यास हो, मोक्ष । कतै नरमाएको मानिस कसरी खुसी हुन्छ मनको बाटोमा ! भौतिक दुनियाबाट कसरी पुग्छ मानिस आध्यात्मिक बाटोमा !! …….।´

उपन्यासमा युद्धको कोरा वर्णनमात्र छैन, यसमा लेखकको जीवनदर्शन, युद्ध र प्रेमको शालीन अभिव्यक्ति र सामाजिकता प्रतिबिम्बित छ ।

उद्देश्य
पूर्वीय दर्शनमा नश्वरतालाई दु:खको कारण मानिएको छ । सांसारिक प्रपञ्चबाट मुक्ति पाउनु नै मोक्ष हो । मोक्षलाई वस्तुसत्यका रूपमा स्वीकार गर्न कठिन छ । यो एक वैयक्तिक अनुभूति हो । उपनिषद्हरुमा आनन्दको स्थितिलाई मोक्षको स्थिति भनिन्छ किनकि आनन्दमा सारा द्वन्द्वहरुको विलय हुन्छ । वेदान्तमा आत्मसाक्षात्कारलाई मोक्ष भनिन्छ ।मृत्युपरान्त ब्रम्हमा विलीन हुनु मोक्ष हो भने ईश्वरवादमा ईश्वरको सान्निध्य मोक्ष हो । अन्य वादहरुमा जन्म र मृत्युको चक्रबाट मुक्ति नै मोक्ष हो ।

सिर्जनको यस उपन्यासमा भने युद्धलाई सर्वोपरि मान्दै युद्धमा होमिने पात्रहरुमध्ये अन्तमा आविष्कारले आत्महत्या र इच्छाले भिक्षुको बाटो रोज्नु, इमा र दिलसाहरु विदेशिनु, शारदा, दीपा र प्रज्ज्वलहरु युद्धमा मारिनु र आदित्यजस्ता पात्रहरु भयानक मानसिक द्वन्दबाट गुज्रिदै लेखनतर्फ लागिरहनुले युद्धको अन्त्य कहिल्यै नहुने र मानिसहरु यसबाट मोक्ष ( मुक्ति ) चाहन्छ्न् भन्ने देखाउन खोजिएको छ ।

दसवर्षे माओवादी युद्धबाट अन्त्यमा के उपलब्धि हात लाग्यो त ? के पाए क्रान्तिमा जीवन उत्सर्ग गर्नेहरुले ?
यस्ता तमाम प्रश्न उभिएका छन् उपन्यासमा ।
युद्धको नाटक केवल सत्ताप्राप्तिको मञ्चन मात्रै बन्न पुगेको तितो यथार्थको प्रस्तुति यहाँ अभिव्यक्त छ ।

देश बदल्ने सपना देखाएर निर्दोष पात्रहरुको कलिला सपनाहरूलाई दुर्घटित पार्ने साथै भौतिक र मानसिक रूपमा गन्तव्यविहीन तुल्याउनेहरुको कुत्सित चरित्रको अनुहार यस उपन्यासले बेनाकाब गरिदिएको छ ।

भाषाशैली
सिर्जनलाई कवि र रेडियोकर्मीका रूपमा सुन्ने बुझ्नेहरुलाई यो उपन्यास पढुन्जेल उनकै आवाज कानमा गुन्जिरहेको आभाष हुन्छ । आख्यान भए पनि उपन्यासका हरेक वाक्य कविताजस्ता लाग्छन् । यसलाई काव्यिक उपन्यासका रूपमा पनि चर्चा गरिएको छ । भावको प्रस्तुतीकरण, पदक्रमको विचलन, बिम्बात्मकता, प्रतीकात्मकता र आलङ्कारिकताजस्ता विशिष्टताका कारण यसको भाषाशैली काव्यात्मक बन्न पुगेको छ ।उपन्यासभित्रका वाक्यहरुमा कर्ता,कर्म र क्रियाको सङ्गति एकाध स्थानबाहेक अन्यत्र भेट्न सकिन्न । जुन यसको शैलीगत वैशिष्ट्य हो ।

जस्तैः
आँखामा सिङ्गो कथा बोकेको थियो आविष्कारले । (पृ.-७)
उज्यालो लिएर आउँछौं एक दिन । मुसुक्क हाँसिन् र आमाको हात समाइन् शारदाले ।(पृ.२९)
पहाडभित्र लुक्ने हतारमा थियो पहेँलो घाम ।(पृ.९१)
मध्य दिनमा एक दर्को पानी परेर उघ्रिएको आकाश फेरि अँध्यारिँदै गयो उसको मनजस्तै ।(पृ.९१)

उपन्यास पढुन्जेल लागिरह्यो कि म कुनै लामो काव्यात्मक आख्यान पढिरहेकी छु । उपन्यासकार स्वयम् कवि पनि भएकोले होला उपन्यासको भाषाशैली ज्यादै नै कवितामय प्रतीत हुन्छन् । शब्दको विन्यास मिलाउने हो भने प्रत्येक अनुच्छेद कविता जस्ता छन् ।
जस्तैः

पहाडभित्र
लुक्ने हतारमा थियो पहेँलो घाम
बादलले बादल नै धकेलेर
मैलिँदै गयो आकाशको सुकिलो तन्ना
साँझ डाक्दै थिए
उड्दै बस्दै गरेका चराहरुले ।

अन्त्यमा,
कवि सिर्जन अविरल उपन्यासकारका रूपमा मोक्ष उपन्यास लिएर उपस्थित छन् । उपन्यास लेख्नु साँच्चै कठिन साधना हो । त्यसमा पनि एउटा इमान्दार लेखकका रूपमा आफूलाई प्रस्तुत गर्नु अर्को दृढ साहस हो । यस कृतिमा लेखक असाध्यै इमानदारीपूर्वक प्रस्तुत भएका छन् । उपन्यासमा चित्रित स्थानीय परिवेश , समय, घटना र पात्रहरू कतिपय आफूले पनि देखेको, सुनेको र चिनेको कारण अझै सुरुचिपूर्ण रह्यो । अन्त्यमा नेपाली आख्यानको भन्डारमा प्रस्तुत उपन्यासको उपस्थिति सार्थक रहोस् ,शुभकामना छ आख्यानकारलाई ।