गाेर्खा नगरपालिका लोगोका डिजाईनर पत्रकार मियाँ सम्मानित

काठमाडौं । गोरखा जिल्ला गाेर्खा नगरपालिका लोगोका डिजाईनर पत्रकार मोहसिन अलि मियाँ सम्मानित भएका छन् । दोसल्लासहित प्रशंसा पत्रद्धारा उनलाई मेयर राजराज पन्त, उपमेयर बिना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

एक दशकयता गोरखामा रहेर पत्रकारिता पेशामा कृयाशिल रहेका मियाँले २ बर्षअघि २०७६ फागुनमा गोरखा नगरपालिकाको लोगो डिजाइन गरी कार्यालयलाई हस्तान्तरण गरेका थिए । लोगोका बिभिन्न ३ डिजाइनहरु नगरपालिकामा पेश गरेका उनको उत्कृष्ट लोगोका रुपमा हाल प्रयोगमा रहेको लोगो छनोट भई २०७६ चैत ३ गतेको कार्यपालिका बैठकबाट पारि‍त भएको थियो ।

लोगोलाई नगर क्षेत्रको पहिचान झल्कने गरी डिजाइन गरिएको मियाँले बताए । जसमा सबैभन्दा माथी नेपालको झण्डा राखिएको छ भने लोगो भित्र इतिहास झल्काउने गरी बिभिन्न स्केच र संकेतहरु समावेश गरिएको छ ।

जसमा नगरक्षेत्रको पहाड, फाँट झल्काउने भुगोल, इतिहासको प्रतिकका रुपमा पृथ्वी नारायण शाहको तस्विरको स्केच, न्याय, समानता, एकता, सुशासन, पारदर्शिता, जवाफदेहिता लगायतको प्रतिकका रुपमा तराजु, नगरक्षेत्रमा रहेको संस्कृती, धर्म, जात, भेषभुषा, नदीनाला, बिभिन्न उत्पादनसंगै यहाँका बोटबिरुवा, फुल लगायत बिभिन्न पहिचान झल्काउने गरी आकर्षक रुपमा लोगो डिजाइन गरिएको डिजाइनर मियाँले बताए ।

पत्रकारितासंगै ग्राफिक्स डिजाइनमा समेत रुची राख्ने उनि नेपाल पत्रकार महासंघ गोरखाको कोषाध्यक्ष समेत हुन् । उनि सिभिलखबर डटकमका समाचार प्रमुख छन् भने गोरखाबाट ग्यालेक्सी फोके टिभीमा रिपोर्टिङ्ग गर्छन् । मियाँ एक दशकदेखि गोरखा पत्रकारिता गर्दै आएका छन् ।