सभ्यता भनेको के हो ?

१. भर्खर भर्खरै चिनेको मान्छेसँग उसको तलब, उमेर, प्रेम सम्बन्ध र पारिवारीक अवस्था सम्बन्धी नितान्त व्यक्तिगत प्रश्नहरू नसोध्नू । उनीहरूलाई आफैँ सहज हुने र खुल्ने प्रयाप्त समय दिनू ।

२. गुट्खा र पान खाएर जथाभावी नथुक्नू । घरको शौचालय प्रयोग गरेपछि पानी हालेजस्तै सार्वजनिक शौचालय प्रयोग गरेपछि पनि सफा राख्नू ।

३. कतै निस्कँदा आफूले प्रयोग गर्नेे वस्तु वा खानेकुराबाट निस्कने फोहोर जथाभावी नफाल्नू । फोहोर दानी नभेटेसम्म आफैँसँग राख्नू, भेटिँदै भेटिएन भने घर गएर घरकै फोहोर दानीमा फाल्नू । म मेरो कारण सार्वजनिक स्थल फोहोर हुन दिन्नँ भन्ने प्रण गर्नू ।

४. कोही मान्छे आफ्नो नजिकै खाना खाँदै हुनुहुन्छ वा बसिरहनु भएको छ भने उहाँको अगाडी खोक्ने, खकार्ने वा सिँगान पुछ्ने जस्ता घिनलाग्दो कार्य नगर्नू । यदि त्यसो गर्नु परे त्यस्ता व्यक्तिहरू भन्दा पर गएर गर्नु जसले उनीहरूलाई असर नपरोस् ।

५. अनुमति बिना कसैको मोबाइल, नोटबुक र पर्सजस्ता निजी वस्तुहरू नहेर्नू । अझ मोबाइलमा इनबक्स चेक गर्ने जस्तो असभ्य हर्कत त कहिल्यै नगर्नू ।

६. सार्वजनिक ठाउँ वा अन्य व्यक्ति भएको ठाउँमा जति नै नजिकको साथी भए पनि कसैको मजाक उडाउने, उसको निजी कुराहरू भन्दिने वा उसलाई असहज लाग्ने किसिमको कुनै पनि कार्य नगर्नू । आत्मियता र रमाइलोको नाममा कसैलाई मजाक नबनाउनू ।

७. आर्थिक, सामाजिक तथा राजनैतिक हैसियत हेरेर कसैलाई कुनै दर्जामा नराख्नू । सबै तह र तप्काका मानिसलाई समान रुपमा सम्मान दिनू ।

८. कसैको जात, वर्ग, भुगोल, लैङ्गीकता, पेसा, हुलिया, शारिरीक रङ/अवस्था र शैक्षिक योग्यताजस्ता मापकका आधारमा कसैलाई नहोच्याउनू वा धारणा नबनाउनू । सबैलाई आफ्नै जीवनशैलीमा बाँच्न दिनू ।

९. घर वा बाहिर जहाँ भएपनि खाना नफाल्नू । पैसा आफ्नो भए पनि अनाज र किसानको परिश्रमको सम्मान गर्नू ।

१० कुनै मिटिङ हल वा आफू बसेको स्थान छोड्दा त्यहाँ अरु कोही छैनन् भने बत्ति, पङ्खा र हिटरजस्ता विद्युतिय सामग्री बन्द गरेर मात्र निस्किनू ।

११. कुनै प्रश्न, जिज्ञासा, सुझाव, साथ वा सहयोगको आसा बोकेर आएका जो कोहीलाई आफ्नो बौद्धिकता र क्षमताले सकेको सहयोग गर्नू र त्यस्तो सहयोगको अनावश्यक प्रचार नगर्नू ।

१२. कसैको गल्तिमाथि हाँस्नुभन्दा उसलाई सिकाएर सुध्रिने अवसर दिनू । कसैले गरेको आकस्मिक गल्तिको प्रचार नगर्नू ।

समाज र देश विकासका लागि नागरिक सभ्यता अत्यन्तै महत्पूर्ण र अपरिहार्य कदम हो । आफूले जानेका कुरा अरुलाई सिकाउनू र सभ्य समाज निर्माणमा योगदान पुर्याउनू हामी सबैको दायित्व हो ।

उल्लेखित बुँदा मेरो व्यवहार र आचरण हुन् । यी बाहेक तपाईंसँग भएका यस्तै सभ्य गुनहरू कमेन्टमा लेख्नूस् है ? राम्रा कुरा सबैले सिकेको राम्रो ।

सभ्य बनौँ, सभ्य समाज निर्माणमा सहयोग गरौँ । 😊

©Binita Karki