कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् ।

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन् ।  कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए । कांग्रेसले जाँदा केपी ओली नेतृत्वको सरकारको असफलता र गैरसंवैधानिक तथा जनविरोधी गतिविधिलाई प्रहार गरेर आगामी निर्वाचनमा जनतासमक्ष जानुपर्ने बताउँदै महामन्त्री शर्माले भने, ‘तर, हामी उत्तिकै के सजग छौँ भने, हाम्रो पनि सरकारको एक वर्षको परफर्मेन्सबारे व्याख्या हुन्छ । हामी आफैँ पनि समीक्षा गरेर जान्छौँ । यसबीचमा जे कमजोरी सरकारको भएका छन् त्यसलाई कसरी करेक्सन गर्न सकिन्छ, सरकारलाई कार्य सम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनुपर्‍याे भनेर भन्छ ।’

जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सरकारलाई ध्यानाकर्षण गराउने पनि महामन्त्री शर्माले बताए ।  कोभिड– १९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घचघच्याउने उनको भनाइ छ । त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरू बनाउने दिर्शातर्फ अघि बढ्ने पनि उनले बताए ।

महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरू पूरा हुन नसक्ने पनि बताए ।  सरकार संविधानअनुसार चलाउने, संविधान र संसद्को रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै सोअनुसार भए नभएको जनताले समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि उनले जानकारी दिए । उनले भने, ‘अहिले हामी दुईवटा महामन्त्री भ्रातृ र शुभेच्छुक संस्थाहरूको सन्दर्भमा केही वर्कआउट पनि गरिरहेका छौँ । अर्को, कार्यसम्पादन समितिको बैठक बसिसकेपछि देशभरि नै कार्यसम्पादन समिति बनाउने क्रम सुरु हुन्छ । सबै तहमा कार्यसम्पादन समितिहरू गठन हुन्छन् ।’

कांग्रेसको यसअघि भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो । (नयाँ पत्रीका)