दीपकराजको व्यंग्य : देशमा भ्रष्टाचार र महंगी बढेको देखेर होला जनसंख्या बढ्न डराएछ !

१३ माघ, काठमाडौं । राजनीतिकदेखि समसामयिक विषयमा कटाक्ष गर्न माहिर मानिन्छन्, अभिनेता दीपकराज गिरी । बेलाबेला विभिन्न विषयलाई लिएर उनले सामाजिक सञ्जालमा कटाक्ष गर्ने गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेसँगै अभिनेता गिरीले फेसबुकमा देशका बेथितीलाई लिएर कटाक्ष गरेका छन् । बुधबार सार्वजनिक नतिजाअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । वर्षौंदेखि बोलीचालीमा नेपालको जनसंख्या तीन करोड बताइँदै आइएको थियो ।

गिरीले नेपालको जनसंख्याको प्रारम्भिक नतिजापछि कटाक्ष गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘१० वर्ष भो ३ करोड जनसंख्या भनेको । आज पनि २ करोड ९१ लाख मात्रै रहेछ । देशमा भ्रष्टाचार, महंगी, गरिबी, हत्या हिंसा बढेको देखेर होला जनसंख्या बढ्न डराएछ गाँठे ।’ उनको यो पोस्टमा पाँच सय बढीले कमेन्ट गरेका छन् भने थुप्रैले शेयर समेत गरेका छन् ।