१० वर्षमा तराईको जनसंख्या २३ लाखले बढ्यो, हिमालको घट्यो

पछिल्लो १० वर्षमा तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ।

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार भौगोलिक क्षेत्र अनुसार तराईमा जनसंख्या वृद्धि भएको देखिन्छ।

तराईमा हाल जनसंख्या १ करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ। २०६८ मा तराईमा १ करोड ३३ लाख १८ हजार ७०५ जनसंख्या थियो।

विभागका अनुसार १० वर्षअघि तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो। अहिले सो संख्या बढेर ५३.६६ प्रतिशत पुगेको हो।

त्यो भनेको तराईमा मात्रै २३ लाख ४७ हजार १२३ ले जनसंख्या वृद्धि भएको हो।

यस्तै, हिमाली क्षेत्रमा १० वर्षअघि कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको देखिएको विभागले जनाएको छ।

२०६८ सालमा हिमाली क्षेत्रको जनसंख्या १७ लाख ८१ हजार ७९२ थियो। हाल जनसंख्या घटेर १७ लाख ७८ हजार १०४ पुगेको हो।

यसैगरी पहाडी क्षेत्रमा १० वर्षअघि १ करोड १३ लाख ९४ हजार ७ अर्थात ४३.०१ प्रतिशत जनसंख्या थियो। अहिले सो जनसंख्या १ करोड १७ लाख ४८ हजार ५४८ पुगेको हो।

विभागका अनुसार सो जनसंख्या पहिले ४३.०१ प्रतिशत रहेकोमा ४०.२५ प्रतिशतमा झरेको हो।

यसैगरी जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ।

१० वर्ष अघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको हो।

विभागका अनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको हो।

अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको प्रारम्भिक तथ्यांकले देखाएको छ। जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन्।

त्यो भनेको ८१.२८ प्रतिशत पुरूष र १८.७२ प्रतिशत महिला विदेशमा छन्।

१० वर्ष अघिको तथ्यांकलाई हेर्ने हो भने जम्मा विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ जना थियो।

जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ जना पुरूष र महिला २ लाख ३७ हजार ४०० जना थिए।

त्यतिबेला विदेशिने पुरूषको संख्या ८७.६४ प्रतिशत थियो भने महिलाहरूको जम्मा १२.३६ प्रतिशत मात्रै थियो। त्यसअनुसार अहिले महिलाहरू विदेशिने दर बढेको छ।

यस्तै भौगोलिक क्षेत्रअनुसार तराईका १० लाख ६५ हजार ९६९, पहाडका ९ लाख ८४ हजार ८९६ हजार र हिमालका १ लाख १८ हजार ६१३ व्यक्तिहरू विदेशमा रहेको देखिन्छ।

बुधबार सार्व‍जनिक गरेको तथ्यांकका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो।

नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ।

setipati बाट