बेलायतमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाह: नेपालले अहिले खोपमै फोकस गर्नुपर्छ

लन्डन । बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरोधी खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने जोखिम देखिएको भन्दै उनीहरुले नेपाल सरकारलाई खोप वितरणमै थप ध्यान दिन सल्लाह दिएका छन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा आइतबार कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा सुधिर लोहनीले नयाँ भेरियन्टको केसमा समेत खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको बताए ।

बेलायतको केन्टस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत डा लोहनीले ओमिक्रन भेरियन्ट तुलनात्मक रुपमा कम घातक तर बढी संक्रामक रहेको जनाए ।
‘यसको संक्रमणले फोक्सोमा भन्दा पनि बढी घांटीमा असर गर्ने भएकाले कम घातक छ । तर संक्रमण दर बढी रहेका कारण स्वास्थ्य सेवाहरुले थेग्नै नसक्ने तहको भार सिर्जना हुने खतरा देखिएको छ’, उनले भने ।

संक्रमण भइहालेको अवस्थामा आफूलाई सक्रिय राख्न निकै महत्वपूर्ण रहने डा लोहनीको सुझाव छ ।’शरिर निष्क्रिय रहँदा फोक्सोले कम काम गर्ने र संक्रमण जटिल हुने भएकाले सक्रिय भइराख्नु महत्वपूर्ण हुन्छ’, उनले भने ।

नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा कमल अर्यालले ओमिक्रोन बढी संक्रामक रहेका कारण थप सजगता जरूरी रहेको धारणा व्यक्त गरे ।
सुरक्षाका लागि बुस्टर खोप लिन सल्लाह दिंदै उनले भीडभाडमा नजाने, नियमित रुपमा हात धुने, सुरक्षित दूरी कायम गर्ने र मास्क लगाउने जस्ता सतर्कता पनि अपनाउन सुझाव दिए ।
नेपालको हकमा पनि ओमिक्रोन संक्रमण थप जटिल बन्ने जोखिम औँल्याउंदै डा अर्यालले नेपाल सरकारले अहिले खोप वितरणमै बढी ध्यान दिनुपर्ने बताए ।

बेलायतमै कार्यरत सिनियर नर्स सुनिता गौतम थापाले ओमिक्रोनको कारण बेलायतका अस्पतालहरुमा समेत अहिले चाप निकै बढेको बताइन्। तीव्र फैलिरहेको संक्रमणले अस्पताल भर्ना हुने तथा आइसियूमा जाने बिरामी बढेको र धेरै स्वास्थ्यकर्मीहरु नै संक्रमित बनेकाले समस्या भएको उनले सुनाइन् ।

कार्यक्रमका वक्ताहरुले स्वास्थ्यकर्मीहरुले आफूहरुले अहिले व्यक्तिगत वा संस्थागत रुपमा नेपालमा विभिन्न सहयोग गर्ने कोशिश् गरिरहेको बताए । नेपाल सरकारले चाहेर उपयुक्त वातावरण बनाउन सके विदेशस्थित सयौं नेपाली स्वास्थ्यकर्मीहरुबाट धेरै लाभ लिन सक्ने धारणा उनीहरुले राखे ।

कोरोना महामारीको बेला आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्धेश्यसहित नेपाल पत्रकार महासंघ बेलायत शाखाले सचेतना कार्यक्रम शुरु गरेको हो ।

नेप्लिज डक्टर्स एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोशिएशन यूके समेतको सहकार्य रहने कार्यक्रम पाक्षिक रुपमा सञ्चालन गरिनेछ । कार्यक्रममा बेलायतमा कार्यरत डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी र जनस्वास्थ्य विज्ञहरुलाई निम्त्याएर प्रत्यक्ष प्रश्नोत्तर गराइने संयोजक एवम् शाखाका वरिष्ठ उपाध्यक्ष दिनेश परियारले जानकारी दिए ।